ओली र लेखक पक्राउपछि कांग्रेस ‘वेट एन्ड वाच’मा, आजै आधिकारिक धारणा आउने संकेत

काठमाडौं — केपी शर्मा ओली र रमेश लेखक पक्राउ प्रकरणले राष्ट्रिय राजनीति तरंगित भइरहँदा नेपाली कांग्रेस भने अहिलेसम्म औपचारिक रूपमा मौन देखिएको छ।

पार्टीभित्र यस विषयमा गम्भीर चासो भए पनि तत्कालै सार्वजनिक धारणा ल्याउने विषयमा सावधानी अपनाइएको देखिन्छ। कांग्रेसका एक पदाधिकारीका अनुसार आज संसद भवनमा आयोजित सांसद अभिमुखीकरण कार्यक्रममा शीर्ष नेताहरूबीच अनौपचारिक छलफल हुने र त्यसपछि मात्र आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरिएको छ।

उनले भने, “अभिमुखीकरण कार्यक्रमपछि कांग्रेसको धारणा स्पष्ट हुन्छ, हतारमा प्रतिक्रिया दिने पक्षमा छैनौं।”

स्रोतका अनुसार कांग्रेस सरकारको कदमप्रति पूर्ण समर्थन गर्ने अवस्थामा भने छैन। “सरकारको निर्णयमा प्रश्न उठाउने ठाउँहरू छन्, तर कसरी र कस्तो शैलीमा उठाउने भन्ने विषयमा हामीभित्र छलफल हुँदैछ,” ती पदाधिकारीले बताए।

राजनीतिक रूपमा पनि यो घटनाले कांग्रेसभित्र थप जटिलता ल्याएको छ। पक्राउ परेका रमेश लेखक पार्टीका सभापति शेरबहादुर देउवा निकट मानिन्छन्, यद्यपि उनी हालको कार्यसमितिमा भने समावेश छैनन्।

यस घटनाले सरकार–प्रतिपक्ष सम्बन्ध मात्र होइन, कांग्रेसभित्रको आन्तरिक सन्तुलन र रणनीतिलाई पनि नयाँ ढंगले परीक्षण गर्ने संकेत दिएको छ। अब अभिमुखीकरण कार्यक्रमपछि आउने कांग्रेसको आधिकारिक धारणा नै आगामी राजनीतिक दिशा निर्धारणमा महत्वपूर्ण हुने देखिन्छ।

lp olinepalo congressramesh lekhaksudan gurung
Comments (0)
Add Comment