बरसैनी घर–छनौटे–बजगाईं टोल–सुनारबस्ती हुँदै साना चित्रेसम्म जोडिने सडक वर्षायाममा हिलाम्मे र अवरुद्ध बन्दै गएको उनीहरूको गुनासो छ।
स्थानीय शिवराज न्यौपानेले ककनी मिडियालाई पठाएको सन्देशअनुसार सडकको अवस्था यति बिग्रिएको छ कि पैदल हिँड्नसमेत कठिन भएको छ। एम्बुलेन्स, बिरामी बोक्ने सवारी तथा अत्यावश्यक सेवाका गाडीहरू समेत सो क्षेत्रमा पुग्न नसक्ने अवस्था रहेको बताइएको छ।
सडक अव्यवस्थाका कारण विद्यार्थीहरू विद्यालय जानबाट वञ्चित भएका छन् भने बिरामीहरूले समयमै उपचार नपाउने समस्या झेलिरहेका छन्। किसानहरूले उत्पादन बजारसम्म पुर्याउन नसक्दा आर्थिक रूपमा समेत मारमा परेका छन्। कुखुरापालन व्यवसायीहरूलाई पनि दैनिक सञ्चालनमा ठूलो समस्या परेको स्थानीयको भनाइ छ।
स्थानीय बासिन्दाहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै अब आश्वासन होइन, काम आवश्यक भएको बताएका छन्। उनीहरूले ककनी मिडियासँग सडकको वास्तविक अवस्था स्थलगत रूपमा अवलोकन गरी भिडियो तथा समाचारमार्फत समस्या उजागर गरिदिन आग्रह गरेका छन्।
त्यस्तै, उक्त सडक निर्माण कार्य कहिले सुरु हुन्छ भन्नेबारे ककनी गाउँपालिकाका मेयरसँग आधिकारिक प्रतिक्रिया लिनुपर्ने माग पनि उठेको छ। “डोजर कहिले आउँछ? काम कहिले सुरु हुन्छ?” भन्ने प्रश्न स्थानीयबीच प्रमुख चासोको विषय बनेको छ।
स्थानीयहरूले यो विषयलाई प्राथमिकताका साथ उठाएर सम्बन्धित निकायसम्म आवाज पुर्याइदिन मिडियासँग हार्दिक अनुरोध गरेका छन्।