कैलालीको चुरे गाउँपालिका–३ भक्तपुरमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा एकै परिवारमा दर्दनाक घटना भएको छ। घटनामा दुई बालकको ज्यान गएको छ भने आमा–छोरा बिरामी परेका छन्।
वैशाख ३ गते मरेको कुखुराको मासु सेवन गरेपछि एकै परिवारका चार जना अचानक बिरामी परेका थिए। उनीहरूलाई उपचारका लागि धनगढीस्थित प्रादेशिक अस्पताल लगिएकोमा ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार बिरामी परेका आमा २८ वर्षीया राधिका ताम्राकार र उनका ३ वर्षीय कान्छा छोरा दिपेश ताम्राकारको उपचार जारी रहेको छ। उनीहरूको अवस्था चिकित्सकको निगरानीमा रहेको बताइएको छ।
घटना बिहीबार भएको भए पनि शुक्रबार मात्र प्रहरीलाई जानकारी प्राप्त भएको थियो। त्यसपछि प्रहरीको समन्वयमा चारै जनालाई तत्काल उपचारका लागि अस्पताल पुर्याइएको हो।
प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले मरेको कुखुराको मासु स्थानीय पोल्ट्री फार्मबाट ल्याएको खुलेको छ। सो फार्म सञ्चालक स्वयं इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भई बयान दिएको प्रहरीले जनाएको छ। उनलाई आवश्यक अनुसन्धानका लागि बोलाएको बेला उपस्थित हुने शर्तमा आफन्तको जिम्मा लगाइएको बताइएको छ।
घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ भने अवैध वा असुरक्षित रूपमा बिक्री हुने मासुजन्य पदार्थप्रति गम्भीर प्रश्न उठाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ।