जित्नुअघि नै काम: काठमाडौँ–७ मा बिमला लामाको उदाहरण

“गरे के सकिन्न?” — काठमाडौँ क्षेत्र नम्बर ७ मा उज्यालो नेपाल पार्टीकी उम्मेदवार बिमला लामाले देखाएको एउटा सानो तर अर्थपूर्ण कामले यही प्रश्नको उत्तर दिएको छ।

केही दिनअघि घरदैलो कार्यक्रममा जाँदा एक आमाले बिमला लामा समक्ष आफ्नो पीडा पोखिन्—“हामीलाई अहिलेसम्म बिजुली छैन। बत्ती नहुँदा जङ्गलको छेउमा बस्न डर लाग्छ।” त्यो बिलौना सामान्य गुनासो मात्र थिएन, राज्यको पहुँचबाट टाढा परेका नागरिकको वास्तविकता थियो।

उम्मेदवार लामाले त्यहीँ वचन दिइन्—“म जसरी पनि पोल ल्याउँछु, बत्ती मिलाउँछु।”

वचन दिन सजिलो हुन्छ, पूरा गर्न गाह्रो। तर केही दिन नबित्दै उनले नेपाल विद्युत प्राधिकरण सँग पहल गरिन्, हारगुहार गरिन्, र अन्ततः सम्बन्धित निकायलाई समन्वयमा ल्याएर त्यहाँ बिजुलीको पोल गाड्न सफल भइन्।

जब पोल घरअगाडि आइपुग्यो, ती आमा खुसीले भावुक भइन्। स्थानीयहरू भन्न थाले—“अहिलेसम्म जितेर गएकाहरू फर्केर आएनन्, तर यहाँ त जित्नु अघि नै काम भयो।”

यो घटना सानो देखिए पनि राजनीतिक संस्कृतिमा ठूलो सन्देश बोकेको छ। चुनाव अघि वाचा गर्ने र चुनावपछि बेपत्ता हुने प्रवृत्ति नेपाली राजनीतिमा नयाँ होइन। काठमाडौँ–७ ले पनि त्यस्ता अनुभव धेरै भोगिसकेको छ। तर उम्मेदवार हुँदै गर्दा—न सांसद, न मन्त्री—सामान्य नागरिकको समस्यामा प्रत्यक्ष हस्तक्षेप गरी समाधान निकाल्नु फरक शैलीको राजनीति हो।

बिमला लामाले हामीसँगको संक्षिप्त प्रतिक्रियामा भनिन्, “यो मैले भोटका लागि गरेको होइन। ती आमाको पीडा र उहाँले ममाथि देखाउनु भएको विश्वास पूरा गरेको मात्र हुँ। मलाई भोट दिनुहोस् वा नदिनुहोस्, म जनताको सेवामा लागिरहनेछु।”

उनको यो अभिव्यक्तिले उज्यालो नेपाल पार्टीको मूल नारा सम्झाउँछ—गफ होइन काम, भाषण होइन परिणाम। पार्टीका शीर्ष नेता मध्येका एक कुलमान घिसिङ को कार्यशैलीसँग जोडेर हेर्दा पनि स्थानीय स्तरमा “उज्यालो” भन्ने शब्द प्रतीकात्मक मात्र नभई व्यवहारिक हुनुपर्छ भन्ने सन्देश दिन खोजिएको देखिन्छ।

यो घटनाले अर्को प्रश्न पनि उठाएको छ—काम गर्न शक्ति, पद वा पहुँच अनिवार्य हो? कि इच्छाशक्ति र पहल नै पर्याप्त हुन्छ?

काठमाडौँ क्षेत्र नम्बर ७ का मतदातासामु अब विकल्प स्पष्ट छ। गफ गर्ने कि काम गर्ने? चुनावी भाषण रोज्ने कि परिणाम दिने नेतृत्व?

अन्ततः निर्णय जनताकै हातमा छ। तर बिमला लामाले कम्तीमा एउटा उदाहरण भने प्रस्तुत गरिसकेकी छन्—राजनीति केवल आश्वासनको खेल होइन, चाहना भए परिवर्तन सम्भव छ।

bimala lamakathmandau 7kulaman ghising
Comments (0)
Add Comment