काठमाडौं — राजधानीको अत्यन्त व्यस्त यातायात केन्द्र नयाँ बसपार्क क्षेत्रमा ट्राफिक प्रहरीले सडक सुरक्षालाई प्राथमिकतामा राख्दै विशेष सचेतना महाअभियान सञ्चालन गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ तथा ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कको संयुक्त आयोजनामा एक महिने “सडक सुरक्षा तथा सडक अनुशासन सम्बन्धी महाअभियान” सुरु गरिएको हो।
सचेत नागरिकका चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी भन्ने नारासहित सुरु गरिएको अभियानले चालक मात्र होइन, यात्रुलाई समेत जिम्मेवार बनाउने उद्देश्य राखेको छ। ट्राफिक प्रहरीका अनुसार दुर्घटना न्यूनीकरणका लागि केवल नियम बनाउनु पर्याप्त नहुने भएकाले व्यवहारमै परिवर्तन ल्याउन यस्तो प्रत्यक्ष सचेतनामूलक कार्यक्रम आवश्यक भएको हो।
प्रहरी निरीक्षक राजेश सिलवालको नेतृत्वमा खटिएको टोलीले काठमाडौंको बाइपास हुँदै नुवाकोट जाने सडकखण्डमा सवारी साधन रोकी चालक तथा यात्रुसँग प्रत्यक्ष संवाद गर्दै ट्राफिक नियमबारे जानकारी गराएको थियो। सो क्रममा मदिरा सेवन गरी सवारी नचलाउन, सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्न, अनावश्यक हर्न प्रयोग नगर्न, तोकिएको गति सीमाभित्र सवारी चलाउन तथा मोटरसाइकल चालक र पछाडि बस्ने यात्रुले अनिवार्य रूपमा हेल्मेट प्रयोग गर्नुपर्ने विषयमा जोड दिइएको थियो।
ट्राफिक प्रहरीले विशेष गरी पछिल्लो समय दुर्घटनाका प्रमुख कारणका रूपमा देखिएका लापरबाहीपूर्ण ड्राइभिङ, तीव्र गति, मोबाइल प्रयोग र मादक पदार्थ सेवनजस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न यस्ता अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ। नयाँ बसपार्क क्षेत्र दैनिक हजारौं सवारी साधन र यात्रुको आवतजावत हुने केन्द्र भएकाले यहाँ सानो गल्तीले पनि ठूलो दुर्घटनाको जोखिम निम्त्याउन सक्ने अवस्था रहेको छ।
यस्तै, अभियानले सडक दुर्घटना न्यूनीकरणसँगै सुरक्षित पैदल यात्रा, साइकल प्रयोगको प्रवर्द्धन र सार्वजनिक यातायातप्रति विश्वास बढाउने दीर्घकालीन लक्ष्य पनि राखेको छ। ट्राफिक प्रहरीका अनुसार नागरिक स्वयं सचेत र अनुशासित भए मात्र सडक सुरक्षा सम्भव हुने भएकाले यो अभियानलाई एक महिनासम्म निरन्तर सञ्चालन गरिनेछ।
यस अभियानले नियम उल्लङ्घन गर्नेहरूलाई मात्र सचेत गराउने नभई, समग्र सडक संस्कार सुधार्ने दिशामा महत्वपूर्ण पहलका रूपमा लिइएको छ।