प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे, तीन महत्वपूर्ण विधेयकमाथि छलफलको तयारी

काठमाडौं, वैशाख १६, — प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बिहान ११ बजे बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा तय गरिएको बैठकमा तीनवटा प्रमुख विधेयकमाथि छलफल तथा पारितको प्रक्रिया अघि बढाइने कार्यसूची रहेको छ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभाबाट उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम छ।

त्यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले भन्सार विधेयकमाथि अर्थ समितिको प्रतिवेदनसहित छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्। बैठकमा उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत हुनेछ।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० सम्बन्धी कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहित छलफल गरियोस् भन्ने प्रस्ताव राख्नेछन्। सो विधेयक पारित गरिने प्रस्ताव पनि कार्यसूचीमा समावेश छ।

संसदको आजको बैठकले विधायन प्रक्रियामा तीव्रता ल्याउने अपेक्षा गरिएको छ।

Comments (0)
Add Comment