काठमाडौं । जय इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा विभिन्न तीन स्थानमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी सम्पन्न भएको छ।
संस्थाले आफ्ना शेयर सदस्य तथा साधारण सदस्यको सहज सहभागितालाई ध्यानमा राख्दै काभ्रेस्थली, फुतुङ्ग र साङ्ला मा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी १७औँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो। तीनवटै स्थानमा आयोजित कार्यक्रम एउटै संस्थाको वार्षिक साधारण सभाअन्तर्गत सम्पन्न भएका हुन्।
(तस्विर – फुतुङ्ग)
काभ्रेस्थली, फुतुङ्ग र साङ्लामा आयोजित कार्यक्रममा सम्बन्धित क्षेत्रका जनप्रतिनिधि, संस्थाका पदाधिकारी तथा कर्मचारी, सञ्चालक समिति, शेयर सदस्य तथा साधारण सदस्यहरूको सहभागिता रहेको थियो।
सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, बचत तथा ऋण सेवा, संस्थागत गतिविधि, सदस्यलाई प्रदान गरिँदै आएका सेवा तथा आगामी कार्ययोजना लगायतका विषयमा छलफल गरिएको थियो। साथै, संस्थाले सञ्चालन गर्दै आएका सामाजिक तथा सदस्यकेन्द्रित कार्यक्रमका बारेमा समेत जानकारी गराइएको थियो।
(तस्विर – फुतुङ्ग)
२०६६ सालमा स्थापना भएको जय इन्द्रायणी सहकारीले बचत तथा ऋण सेवासँगै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। संस्थाले रक्तदान कार्यक्रम, सदस्यका छोराछोरीले एसएलसी/एसईई उत्तीर्ण गरेपछि सम्मान तथा विभिन्न विपद्का समयमा सहयोग गर्दै आएको जनाएको छ।
त्यसैगरी, भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग समेत गरेको संस्थाले जनाएको छ।
संस्थामा आबद्ध सदस्य वा सदस्यको परिवारमा अप्रिय घटना तथा दुःखद् अवस्था आइपरेमा राहतस्वरूप ५० हजार रुपैयाँसम्म आर्थिक सहयोग उपलब्ध गराउँदै आएको जानकारी पनि साधारण सभाका क्रममा दिइएको थियो।
तीनवटै स्थानमा सम्पन्न १७औँ वार्षिक साधारण सभामार्फत संस्थाले आगामी दिनमा सदस्यको आर्थिक हितलाई प्राथमिकता दिँदै संस्थागत सुदृढीकरण, सेवा विस्तार, पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।
(तस्विर – फुतुङ्ग)
काभ्रेस्थलीदेखि फुतुङ्ग हुँदै साङ्लासम्म छुट्टाछुट्टै कार्यक्रममार्फत सम्पन्न साधारण सभाले संस्थाका सदस्य बीचको सहभागिता र संस्थागत सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।