नुवाकोट । प्रतिनिधि सभा क्षेत्र नं. १ मा आगामी निर्वाचनको अंकगणितीय चित्र हेर्दा यसपटक प्रतिस्पर्धा नयाँ मोडतर्फ उन्मुख देखिएको छ । २०७९ सालको निर्वाचन परिणाम, समानुपातिक मतको अवस्था, पछिल्लो समय बढ्दो पार्टी प्रवेश र स्थानीय राजनीतिक असन्तुष्टिलाई जोडेर हेर्दा बद्री मैनाली अहिलेको समीकरणमा अगाडि देखिएका छन् भन्ने चर्चा तीव्र बनेको छ ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार मैनालीले २३ हजार ४६३ मत प्राप्त गरेका थिए । पाँच दलीय गठबन्धनका उम्मेदवार हितबहादुर तामाङ ले २६ हजार ५४८ मत ल्याएर जित हात पारे पनि मतान्तर झण्डै तीन हजार मात्र थियो । बहुदलीय गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्दा पनि एमाले उम्मेदवारको मत उल्लेख्य रहनुले व्यक्तिगत प्रभाव र संगठनात्मक बल दुवै स्पष्ट देखाएको विश्लेषण गरिन्छ ।
समानुपातिकतर्फ नेकपा (एमाले) ले १६ हजार २६७ मत ल्याएको थियो भने प्रकाशशरण महत आबद्ध नेपाली काँग्रेसले १५ हजार ७५१ र माओवादी केन्द्रले १५ हजार १२७ मत पाएको थियो । यसले क्षेत्र नं. १ मा एमालेको संरचनागत आधार बलियो रहेको संकेत दिएको थियो । त्यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी ले करिब ६ हजार मत ल्याएको थियो । आगामी निर्वाचनमा त्यो संख्या बढ्न सक्ने आकलन भइरहँदा यसको प्रत्यक्ष असर परम्परागत दलहरूको मतमा पर्ने राजनीतिक विश्लेषण छ ।
पछिल्लो समय नुवाकोट–१ मा विभिन्न दल परित्याग गरी नेकपा (एमाले) प्रवेश गर्नेको संख्या १ हजार ६ सय २७ पुगेको दाबी गरिएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी तथा अन्य दलका जिम्मेवार व्यक्तिहरू एमाले प्रवेश गरेका छन् । बहालवाला वडा अध्यक्षदेखि जेन–जी पुस्ताका युवा र विद्यार्थीसमेत पार्टीमा जोडिनुले संगठन थप बलियो बनेको एमालेको दाबी छ । एकल प्रतिस्पर्धाको अवस्था बनेमा यसले मैनालीलाई प्रत्यक्ष फाइदा पुग्ने आँकलन गरिँदैछ ।
को हुन् बद्री मैनाली ?
२०५१ सालदेखि सक्रिय राजनीतिमा लागेका बद्री मैनाली संगठनको तल्लो तहबाट क्रमशः माथि उक्लिएका नेता हुन् । उनी कुनै आकस्मिक रूपमा उदाएका पात्र होइनन्, बरु वर्षौंदेखि जनसम्पर्क, संगठन विस्तार र कार्यकर्ता परिचालनमा सक्रिय रहेका अनुहार हुन् ।
शिक्षा तथा मानवस्रोत विकास विभागको केन्द्रीय सदस्य, क्षेत्रीय उपाध्यक्ष, जिल्ला उपाध्यक्ष हुँदै हाल दोस्रो कार्यकालका लागि जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । पार्टीभित्र निरन्तर जिम्मेवारी पाउनु उनको संगठनात्मक स्थिरता र आन्तरिक विश्वसनीयताको संकेत मानिन्छ ।
२०७४ सालमा बागमती प्रदेश सभा सदस्य निर्वाचित भएपछि उनले ४८ दिनका लागि कृषि राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । छोटो समय भए पनि सिँचाइ विस्तार, किसान अनुदान, आधुनिक उपकरण र उत्पादन वृद्धिसँग सम्बन्धित योजनामा उनले देखाएको सक्रियताले कृषि क्षेत्रप्रति उनको प्राथमिकता स्पष्ट पारेको समर्थकहरूको भनाइ छ । नुवाकोटजस्तो कृषि प्रधान जिल्लाका लागि यो अनुभवलाई धेरैले महत्वपूर्ण आधारका रूपमा हेर्ने गरेका छन् ।
अढाई दशकको निरन्तरता र उठ्दो प्रश्न
२०५६ सालदेखि नुवाकोट–१ मा नेपाली काँग्रेस र तत्कालीन माओवादी केन्द्र (हाल नेकपा माओवादी केन्द्र) ले पालैपालो वा गठबन्धनमार्फत प्रतिनिधित्व गर्दै आएका छन् । पटक–पटक प्रतिनिधित्व हुँदा पनि कच्ची सडक, सिँचाइ अभाव, सीमित उद्योगधन्दा, रोजगारीको कमी र युवाको वैदेशिक पलायनजस्ता समस्या ज्यूँका त्यूँ रहेको गुनासो सार्वजनिक रूपमा उठ्न थालेको छ ।
विद्यालय, स्वास्थ्य संस्था र बजार पूर्वाधारमा सुधार भए पनि अपेक्षित स्तरको रूपान्तरण नदेखिएको धेरैको धारणा छ । “यत्रो वर्ष प्रतिनिधित्व हुँदा पनि किन व्यापक परिवर्तन भएन ?” भन्ने प्रश्न अहिले चिया पसलदेखि सार्वजनिक मञ्चसम्म सुनिन थालेको छ ।
लगातार प्रतिनिधित्व गरेका नेताहरूप्रति पनि आलोचना बढ्दो छ । हितबहादुर तामाङले तेस्रो पटकसम्म प्रतिनिधित्व गर्दा पनि उल्लेखनीय रूपान्तरण नदेखिएको आरोप लाग्ने गरेको छ । अर्थ मन्त्रालयको नेतृत्व गरिसकेका प्रकाशशरण महत र उनका दाजु रामशरण महत माथि पनि जिल्लालाई अपेक्षित प्राथमिकता नदिएको असन्तुष्टि सुनिने गरेको छ ।
पराजयपछि पनि निरन्तर सक्रियता
२०७९ मा झिनो मतान्तरले पराजित भए पनि मैनालीले क्षेत्र नछोडी सक्रियता कायम राखेका छन् । गाउँ–टोलमा पुग्ने, समस्या सुन्ने, सम्बन्धित निकायमा पहल गर्ने र व्यक्तिगत रूपमा सहयोग गर्ने शैलीले उनलाई “सधैं भेटिने नेता” को छवि दिएको समर्थकहरूको दाबी छ । युवा, तटस्थ र पहिलोपटक मतदान गर्ने मतदातामाझ पनि उनले पहुँच विस्तार गरिरहेका छन् ।
राजनीतिक अंकगणितका आधारमा यदि एमालेको आधार स्थिर रह्यो, नयाँ मत थपिए र परम्परागत दलहरूबीच मत विभाजन बढ्यो भने यसपटक परिणाम फरक आउन सक्ने सम्भावना बलियो देखिन्छ । मैनाली स्वयंले कम्तिमा तीन हजार मतान्तरले जित्ने दाबी गरेका छन् ।
२०५६ सालयता प्रतिनिधि सभा नजितेको इतिहास बोकेको एमालेका लागि नुवाकोट–१ चुनौतीपूर्ण क्षेत्र रहँदै आएको छ । तर यसपटक जनमनोविज्ञानमा देखिएको परिवर्तनको चाहना, संगठनात्मक तयारी, बढ्दो पार्टी प्रवेश र विगतको झिनो मतान्तरलाई आधार मान्दा अढाई दशकको निरन्तरता तोडिने सम्भावनाबारे चर्चा तीव्र बनेको छ ।
अन्ततः निर्णय मतदाताकै हातमा हुन्छ । तर बदलिँदो राजनीतिक वातावरण र स्थानीय स्तरमा उठिरहेको प्रश्नलाई समेट्दा नुवाकोट–१ मा यसपटक नयाँ इतिहास लेखिने संकेत देखिएको राजनीतिक विश्लेषण बलियो बन्दै गएको छ ।