सरकारभन्दा अघि समाजसेवी : रूपक लोहनीको पहलमा रसुवाका पाँच विद्यालयमा झोला र कपडा वितरण

रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका भित्र रहेका पाँचवटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गर्दै समाजसेवी रूपक लोहनीको पहलमा झोला तथा कपडा सेट वितरण कार्यक्रम सम्पन्न भएको छ। शैक्षिक सामग्रीको अभावका कारण पढाइमा प्रत्यक्ष असर परिरहेका विद्यार्थीहरूको अवस्थालाई मध्यनजर गर्दै गरिएको यो सहयोग कार्यक्रमलाई स्थानीय स्तरमा प्रेरणादायी सामाजिक उदाहरण का रूपमा हेरिएको छ।

कार्यक्रम सफल बनाउन सामाजिक अभियन्ता नारायण पौडेल र धर्म पौडेलले रूपक लोहनीसँग सहकार्य र समन्वय गरेका थिए। उनीहरूको सक्रिय सहभागिताका कारण दुर्गम भौगोलिक क्षेत्रमा पनि कार्यक्रम व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न भएको आयोजक पक्षले जनाएको छ।

दुर्गम भूगोल, आर्थिक कमजोरी र पहुँचको अभावका कारण धेरै विद्यार्थीहरू न्यूनतम शैक्षिक सामग्रीबिनै विद्यालय जान बाध्य रहेको यथार्थलाई ध्यानमा राख्दै यो सहयोग गरिएको हो। विशेषगरी विपन्न तथा सीमान्तकृत परिवारका बालबालिकाका लागि यो सहयोग व्यवहारिक राहत बनेको स्थानीय शिक्षक तथा अभिभावकहरूको भनाइ छ।

यस अवसरमा समाजसेवी रूपक लोहनीले शिक्षा नै दीर्घकालीन विकासको आधार भएको उल्लेख गर्दै भने,

“राज्यका नीति र कार्यक्रमसँगै व्यक्तिगत तथा सामूहिक सामाजिक उत्तरदायित्व पनि उत्तिकै महत्वपूर्ण हुन्छ। सानो सहयोगले पनि विद्यार्थीको आत्मविश्वास र निरन्तर पढाइमा ठूलो प्रभाव पार्न सक्छ।”

नुवाकोटदेखि रसुवासम्म फैलिएको सामाजिक योगदान

रूपक लोहनी पछिल्लो समय नुवाकोट जिल्लाका विभिन्न सामुदायिक विद्यालय, मठ–मन्दिर तथा विपन्न परिवारहरूलाई लक्षित गर्दै निरन्तर सामाजिक सहयोग गर्दै आउनुभएको व्यक्तिका रूपमा परिचित छन्। शिक्षा, संस्कृति र मानवीय सेवामा केन्द्रित उहाँको योगदानलाई स्थानीय समुदायले उच्च सम्मानका साथ लिने गरेको देखिन्छ

यस्ता सहयोग कार्यक्रमहरूले तत्कालीन आवश्यकता मात्र पूरा गर्दैनन्, दीर्घकालमा शिक्षाप्रति सकारात्मक संस्कार र सामाजिक जिम्मेवारीको भावना विकास गर्न मद्दत गर्छन्। राज्य संयन्त्रले सबै क्षेत्रमा समान पहुँच पुर्‍याउन नसकिरहेको अवस्थामा रूपक लोहनीजस्ता समाजसेवी व्यक्तित्वहरूको सक्रियता स्थानीय विकासको पूरक शक्तिका रूपमा स्थापित हुँदै गएको स्पष्ट देखिन्छ।

रसुवा जस्तो दुर्गम जिल्लामा गरिएको यो अभियानले अन्य समाजसेवी, संघसंस्था तथा स्थानीय तहलाई पनि शिक्षामा लगानी गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ।

rupal lohani
Comments (0)
Add Comment