सुनसरीमा ७८३ किलो गाँजासहित ट्रक नियन्त्रणमा, दुई जना पक्राउ

सुनसरी | सशस्त्र प्रहरी बल, नेपालले सुनसरी जिल्लाबाट ७ सय ८३ किलोग्राम गाँजासहितको ट्रक नियन्त्रणमा लिएको छ। उक्त ट्रकसहित चालक र सहचालकलाई पनि प्रहरीले पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा वेश धरानको संयुक्त टोलीले धरान उपमहानगरपालिका–१३ स्थित निशाने डाँडा, कोशी लोकमार्गमा चेकजाँच गर्ने क्रममा शंका लागेपछि भेडेटारबाट धरानतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको ट्रक रोकेको थियो। जाँचका क्रममा ट्रकमा ना ७ ख २८१ नम्बर प्लेट फेला परेको र ड्राइभर सिटमाथि बक्सा बनाइ २२ वटा पोकामा लुकाइएको गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ परेकामा:

  • मनोज परियार, ३१ वर्ष, बराहक्षेत्र नगरपालिका–१, सुनसरी

  • आकाश राई, १८ वर्ष, सिद्धुवा नगरपालिका–६, धनकुटा रहेका छन्।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, पक्राउ परेकाहरूलाई ट्रक र गाँजासहित आवश्यक कारबाहीको लागि बुधबार राति जिल्ला प्रहरी कार्यालय इनरुवा, सुनसरीमा बुझाइएको हो।

यसअघि बुधबार बिहान मात्रै सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन वेश धनकुटाले ४२१ किलो गाँजा सहितको कार पनि नियन्त्रणमा लिएको थियो।

👉 लगातारजसो गाँजा ओसारपसारमा प्रयोग भइरहेका सवारीसाधनले पूर्वी नेपालमा लागुऔषध कारोबार पुनः सक्रिय बन्दै गएको सङ्केत देखिन्छ।

Comments (0)
Add Comment