बालेनको शहरले भन्यो – अब सडक व्यापारी होइन, किसानलाई प्राथमिकता!” किसान हो कि दलाल?

बालेनको शहरले भन्यो – अब सडक व्यापारी होइन, किसानलाई प्राथमिकता!” किसान हो कि दलाल?


काठमाडौं महानगरपालिका–१६ को पत्राचार र निर्णयअनुसार अब माछापोखरी तरकारी बजारमा बाहिरी व्यापारीले व्यवसाय गर्न नपाउने भएपछि, त्यसको कार्यान्वयनस्वरूप ककनी गाउँपालिका वडा नं. १ ले सूचित गर्दै आफ्ना स्थायी कृषकहरूको पहिचान गर्न र परिचयपत्र अनिवार्य बनाउने प्रक्रिया थालेको छ।

यसअघि केही समयदेखि माछापोखरी क्षेत्रको अर्धसडक ओगट्दै अव्यवस्थित रूपमा व्यापार भइरहेको थियो। उक्त स्थानमा सीमित समयको लागि स्थानीय किसानलाई आफ्नै उत्पादन बिक्रिका लागि अनुमति दिइएको भए पनि पछिल्लो समय व्यापारीहरू समेत मिसिएर विदेशी उत्पादनहरू बजारमा ल्याउन थालेपछि समस्या चुलिएको थियो।

काठमाडौं महानगरपालिकाले सडकमा सवारी आवागमन समेत अवरुद्ध हुने गरी व्यापार भइरहेको जनाउँदै वैशाख २ गतेदेखि माछापोखरी बजार परिसरबाहिर व्यापार निषेध गरिसकेको हो।

यसै सन्दर्भमा महानगरले फोहोरमैला व्यवस्थापनको भार बोकिरहेको ककनी क्षेत्रका प्रभावित किसानलाई प्राथमिकता दिँदै ककनी गाउँपालिकाबाट आउन सक्ने प्रमाणित कृषकलाई मात्र व्यापारको छुट दिने व्यवस्था मिलाएको छ।

ककनी वडा नं. १ का अध्यक्ष पदमबहादुर श्रेष्ठ (बलामी) ले जानकारी दिँदै भने, “हामीले स्पष्ट रूपमा ककनीकै स्थायी कृषक हो भन्ने प्रमाण हुने किसानलाई मात्र माछापोखरी बजारमा व्यवसाय गर्न दिन्छौं। त्यसका लागि नागरिकता र फोटोसहितको निवेदन अनिवार्य गरिएको छ।”

२०७९/०१/०७ देखि निवेदन संकलन सुरु भइसकेको र वैशाख १० गतेदेखि परिचयपत्र वितरण गरिने जानकारी वडा कार्यालयले जनाएको छ।

यस निर्णयले ककनी क्षेत्रका किसानहरूलाई राहत दिनुका साथै बजारमा भइरहेको व्यापारको अव्यवस्था व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

Comments (0)
Add Comment