वातावरण दिवसको सन्देशसहित ककनीमा वृक्षारोपण : सांग्रिला डेभलपमेन्ट बैंकको अभियानमा स्थानीय सहभागिता

२०८२ जेठ २३, ओखरपौवा (ककनी)

विश्व वातावरण दिवस २०२५ (जेठ २२) को अवसर पारेर सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले एक महत्वपूर्ण सामाजिक अभियान अन्तर्गत जेठ २२ गते ककनी गाउँपालिका–१, ओखरपौवास्थित महालक्ष्मी मन्दिर क्षेत्र वरपर वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

गत वर्ष घोषणा गरेको ‘सांग्रिला ग्रीन सेभिङ’ योजनाअन्तर्गत “एक खाता बराबर एक रुख” भन्ने प्रतिबद्धताको निरन्तरतास्वरूप यो कार्यक्रम आयोजना गरेको सांग्रिला डेभलपमेन्ट बैंकले जनाएको छ । वातावरण संरक्षणमा निजी क्षेत्रको अग्रसरता देखाउँदै सांग्रिला डेभलपमेन्ट बैंकले सामाजिक उत्तरदायित्वलाई पनि संस्थागत अभ्यासको रूपमा अघि बढाएको छ।

स्थानीय बासिन्दा, जनप्रतिनिधि, शिक्षक, विद्यार्थीलगायतको उल्लेख्य उपस्थितिरहेको वृक्षारोपण
कार्यक्रममा सांग्रिला बैंकका सञ्चालक समिति अध्यक्ष उज्वल सत्याल, प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी, प्रमुख कर्जा अधिकृत रजित मास्के, ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङ, वडा नं. १ का अध्यक्ष पदम बहादुर श्रेष्ठ लगायत सहभागी हुनुभएको थियो ।

त्यसैगरी, नेकपा (एमाले) ककनी गाउँपालिका कमिटी अध्यक्ष जित बहादुर वलामी र पूर्व वडा अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ (बालामी) को समेत उपस्थितिले कार्यक्रममा गरिमा थपेको थियो।

वातावरणप्रति प्रतिबद्धता र सन्देश
बैंक सञ्चालक समिति अध्यक्ष उज्वल सत्यालले कार्यक्रममार्फत दिएको सन्देश यस्तो थियो:

“हामी ग्रीन सेभिङको अवधारणामार्फत वातावरणप्रतिको जिम्मेवारीलाई बैंकिङ सेवासँग जोड्दैछौं। हामीसँग खाता खोल्ने प्रत्येक व्यक्तिका नाममा एक रुख रोप्ने हाम्रो प्रयास हो यो।”

गाउँपालिका अध्यक्ष सुमन तामाङले कार्यक्रमप्रति सराहना प्रकट गर्दै भने,
“निजी क्षेत्रले गरेको यस्ता सकारात्मक पहलले स्थानीय तहमा वातावरण संरक्षणप्रति जनचेतना फैलाउने काम गर्छ।”

सामाजिक उत्तरदायित्व र सेवा विस्तारतर्फ बैंकको प्रतिबद्धता
वर्तमानमा १०९ शाखा र ३० एटीएममार्फत सेवा प्रदान गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंकले भविष्यमा अझ धेरै स्थानमा सेवा विस्तार गर्दै लैजाने र सामाजिक उत्तरदायित्वलाई संस्थागत संस्कारकै रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

सांग्रिलाको वृक्षारोपण अभियानले वातावरणीय सचेतना र संस्थागत उत्तरदायित्वलाई जोड्ने सफल अभ्यासको रूपमा उदाहरणीय मार्ग देखाएको छ।

Comments (0)
Add Comment