ककनी गाउँपालिका वडा नं. १ मा अवस्थित श्री भवानी माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८२ को पहिलो कार्यक्रम उत्साहपूर्ण ढंगले सम्पन्न गरिएको छ। विद्यालयमा गठन गरिएको बाल क्लबका भाईबहिनीहरूले अनुशासित र इमानदार विद्यार्थीहरूलाई सम्मानस्वरूप शैक्षिक सामग्री वितरण गरेका छन्।
कार्यक्रममा बालबालिकाको सक्रियता, आत्मविश्वास र समूहगत नेतृत्व स्पष्ट देखिन्थ्यो। बाल क्लबको यो पहलले विद्यालयमा सकारात्मक ऊर्जा थपेको छ।
सामग्री वितरणमा आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्ने संस्था Fase Nepal का पदाधिकारीद्वय सुमती म्याम र लोकेन्द्र सरसहितको टोलीलाई विद्यालय परिवारले विशेष धन्यवाद ज्ञापन गरेको छ।
विद्यालयका प्रधानाध्यापक चिनियाकाजी श्रेष्ठले कार्यक्रममा बोल्दै भन्नुभयो,
“यस किसिमको प्रोत्साहनले विद्यार्थीहरूमा इमानदारी, अनुशासन र राम्रो बानीको विकासमा उल्लेखनीय योगदान पुर्याउँछ। बाल क्लबले देखाएको नेतृत्व क्षमता प्रशंसनीय छ।”
कार्यक्रमले विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचि, साथीहरूप्रति सम्मान, र स्वअनुशासनको भावना बलियो बनाउने विश्वास लिइएको छ।
विद्यालयले यसलाई आगामी दिनमा पनि निरन्तरता दिँदै बालबालिकाको नेतृत्व विकासमा अझ ध्यान दिने जनाएको छ।