नुवाकोट – जिल्ला प्रशासन कार्यालय नुवाकोटले जिल्लाका सबै स्थानीय तह तथा सरकारी कार्यालयहरूलाई सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले २०८३ कात्तिक १९ गते जारी गरेको पत्रमार्फत गृह मन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचनाका आधारमा आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध गरेको हो।
प्रशासनले जिल्लाका सबै स्थानीय तह र जिल्लास्थित सरकारी कार्यालयहरूलाई सम्भावित जोखिमप्रति सचेत रहँदै आवश्यक पूर्वतयारी गर्न तथा विपद् आइपरेमा तत्काल परिचालन हुन सक्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।
विपद्को समयमा जनधनको क्षति न्यूनीकरण गर्न सम्बन्धित निकायहरू तयारी अवस्थामा रहनुका साथै आवश्यक समन्वय र सूचना प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने देखिन्छ।
यसैबीच, जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई समेत आवश्यक प्रचारप्रसारको व्यवस्था मिलाउन बोधार्थ दिएको छ।
सम्भावित विपद्को जोखिम न्यूनीकरण तथा प्रभावकारी प्रतिकार्यका लागि सम्बन्धित निकायलाई पूर्वतयारीमा रहन प्रशासनले आग्रह गरेको छ।