गौरमा युवकमाथि पाँच राउन्ड गोली प्रहार, अवस्था गम्भीर

रौतहट – रौतहटको सदरमुकाम गौरमा अज्ञात व्यक्तिले एक युवकमाथि पाँच राउन्ड गोली प्रहार गरेका छन्। गोली लागेर गौर नगरपालिका–४ गढवाका रामविलास यादवका छोरा राकेश कुमार यादव गम्भीर घाइते भएका छन्।

स्थानीयका अनुसार मंगलबार राति करिब ९ः१५ बजे गढवा गाउँस्थित पानी ट्यांकी नजिक यादवमाथि अज्ञात व्यक्तिले एक्कासि पाँच राउन्ड गोली प्रहार गरेका थिए। गोली प्रहारपछि घटनास्थलमा त्रास फैलिएको थियो।

घटनालगत्तै घाइते यादवलाई उपचारका लागि अस्पताल लगिएको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी वसन्त गौतमका अनुसार गम्भीर घाइते यादवको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहे पनि चिकित्सकसँग कुराकानी गर्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

युवकमाथि कसले र किन गोली प्रहार गर्‍यो भन्ने विषयमा हालसम्म खुल्न सकेको छैन। घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको अनुसन्धान गर्नुका साथै आक्रमणमा संलग्न व्यक्ति वा समूहको खोजी तीव्र पारेको डीएसपी गौतमले बताएका छन्।

सदरमुकाम गौरकै बस्तीमा रातिको समयमा भएको गोलीकाण्डले स्थानीय बासिन्दामा त्रास र सुरक्षा चिन्ता बढाएको छ। पाँच राउन्ड गोली प्रहार गरी फरार भएका आक्रमणकारीको पहिचान तथा घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

Comments (0)
Add Comment