गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्ट नेपालको माग

 काठमाडौं — जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुदन गुरुङमाथि विभिन्न शंकास्पद गतिविधिमा नाम जोडिएको भन्दै उनलाई पदबाट बर्खास्त गरी पक्राउ गरेर निष्पक्ष अनुसन्धान थाल्न माग गरेको छ।

मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा मन्त्री गुरुङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन अपरिहार्य रहेको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “पदमै रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुन सक्छ, जसले न्याय सम्पादनमा बाधा पुर्‍याउने सम्भावना रहन्छ।”

मुभमेन्टले सरकारलाई मन्त्री नियुक्ति प्रक्रियामा गम्भीरता अपनाउन आग्रह गर्दै परिपक्व, सक्षम र दूरदर्शी नेतृत्व चयन गर्नुपर्ने आवश्यकता औंल्याएको छ। साथै, २०७६ सालपछि भएका राजनीतिक परिवर्तनमा जनताको बलिदान स्मरण गर्दै दोषी ठहरिएका वा आरोपित व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएको छ।

जेनजी मुभमेन्ट नेपालले राज्य संयन्त्रमा कुनै पनि व्यक्तिलाई पद, शक्ति वा राजनीतिक संरक्षणका आधारमा उन्मुक्ति दिन नहुने स्पष्ट पार्दै निष्पक्ष र पारदर्शी न्याय प्रक्रियाको सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ।

यस विषयमा सरकारको आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।

sudhan gurung
Comments (0)
Add Comment