नागढुंगा–सिस्नेखोला सुरुङमार्ग भोलिदेखि सञ्चालनमा

काठमाडौं । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्गका रूपमा निर्माण सम्पन्न भएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग भोलिदेखि सञ्चालनमा आउने भएको छ।

नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को संयुक्त लगानी तथा सहुलियतपूर्ण ऋणमा निर्माण गरिएको यो परियोजनाको कुल लागत करिब १९ अर्ब रुपैयाँ रहेको छ।

जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसन ले विक्रम संवत २०७६ देखि निर्माण सुरु गरेको यस सुरुङमार्गको मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर रहेको छ। निकास मार्ग र क्रस–प्यासेजसहित यसको कुल लम्बाइ भने करिब ५.५ किलोमिटर पुगेको छ।

उद्घाटनपश्चात सुरुवाती चरणमा एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका आकस्मिक सवारीसाधन मात्र सञ्चालन गरिनेछ। आवश्यक सुरक्षा परीक्षण तथा प्राविधिक जाँच सम्पन्न भएपछि करिब एक महिनाभित्र पूर्ण रूपमा सर्वसाधारणका लागि खुला गरिने तयारी छ।

यस सुरुङमार्गमा भने मोटरसाइकल तथा प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका सवारीसाधन पूर्ण रूपमा निषेध गरिएको छ।

यो सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने सवारी आवागमन थप सहज, छिटो र सुरक्षित हुने अपेक्षा गरिएको छ।

Comments (0)
Add Comment