निरन्तरको वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण देशभरका कम्तीमा छ वटा प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज साँझसम्मको तथ्याङ्क सार्वजनिक गर्दै विभिन्न स्थानमा सडक अवरुद्ध भएको जनाएको हो।
प्रहरीका अनुसार बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। यसअघि नै सम्भावित जोखिमलाई मध्यनजर गर्दै जेठ २२ गतेदेखि राति ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको थियो भने अहिले अवस्था झन् जटिल बनेको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म मात्र सवारी सञ्चालन हुँदै आएको थियो।
त्यस्तै, मकवानपुरस्थित कान्ति लोकपथमा पनि वर्षाका कारण हुनसक्ने जोखिम न्यूनीकरण गर्न बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ।
इलाम जिल्लाको इलाम नगरपालिका–९, राजदुवाली क्षेत्रमा पर्ने मेची राजमार्ग हिलोका कारण असार २३ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ। यस्तै, अर्घाखाँचीको पाणिनी गाउँपालिका–२, ढुङ्गेखोलामा माथिबाट ढुङ्गा खसेपछि सालझन्डी–ढोरपाटन सडक असार २८ गतेदेखि बन्द अवस्थामा रहेको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४, जिरोकिला क्षेत्रमा पहिरो खस्दा अरनिको राजमार्ग असार ३१ गतेदेखि अवरुद्ध भएको छ भने आज कोदारी नजिकै इकु क्षेत्रमा पुनः पहिरो जाँदा उक्त खण्डमा आवागमन पूर्ण रूपमा ठप्प भएको छ।
त्यसैगरी, बागलुङको जैमिनी नगरपालिका–८, बेलबगर क्षेत्रमा कालीगण्डकी करिडोरमा ढुङ्गा र माटोसहितको पहिरो खसेपछि आजैदेखि सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता अविनारायण काफ्लेले वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भइरहेकाले यात्रामा निस्किनुअघि आवश्यक जानकारी लिन र सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन्। साथै, अनावश्यक यात्रा नगर्न र पहिरो तथा बाढी प्रभावित क्षेत्रबाट टाढा रहन पनि उनले अपिल गरेका छन्।