म्यागङ गाउँपालिका–६ निवासी १५ वर्षीया प्रतिभाशाली खेलाडी सोनिया तामाङले मुवाँथाई प्रतियोगितामा लगातार तेस्रो पटक प्रथम स्थान हासिल गर्दै ह्याट्रिक सफलता प्राप्त गर्नुभएको छ।
चितवन राइनोज मुवाँथाईद्वारा आयोजित दोस्रो राइनो मुवाँथाई प्रतियोगिता यही १३ र १४ गते नारायणगढस्थित सिद्धार्थ होटलमा सम्पन्न भएको थियो। उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सोनियाले २३ वर्षीया प्रतिद्वन्द्वी सपना गुरुङलाई पराजित गर्दै उपाधि जित्न सफल हुनुभयो।
हाल सोनिया काठमाडौंको ठूलो भ¥याङस्थित लायन मुवाँथाई फाइट क्लबमा प्रशिक्षक अनिलराज शाक्यको मार्गदर्शनमा नियमित प्रशिक्षण लिँदै आउनुभएको छ। उहाँको यो उपलब्धिले गाउँ र जिल्लाको खेलकुद क्षेत्रमा नयाँ ऊर्जा र गौरव थपेको छ।
यसैबीच, सोनिया यही १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पनि सहभागी हुँदै हुनुहुन्छ। खेलकुद र अध्ययनलाई सन्तुलित रूपमा अघि बढाउँदै उल्लेखनीय सफलता हासिल गरेकोमा उहाँको सर्वत्र प्रशंसा भइरहेको छ।