नुवाकोट – गएरातिको मेघगर्जन, चट्याङसहितको अविरल वर्षाका कारण नुवाकोटको तादी गाउँपालिका–४, ढाँडेमा ठूलो पहिरो गएको छ।
खरानीटार–समुन्द्रटार सडकखण्डअन्तर्गत दुप्चेश्वर मार्गमा गएको पहिरोका कारण पैदल तथा सवारीसाधनको आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ।
पहिरोका कारण केही घर जोखिममा पर्नुका साथै खेतीयोग्य जमिनमा समेत क्षति पुगेको जानकारी प्राप्त भएको छ।
अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको जनाइएको छ। लगातार वर्षा भइरहेकाले पहिरो तथा जोखिमयुक्त क्षेत्रमा
आवतजावत गर्दा विशेष सावधानी अपनाउन स्थानीयवासी तथा यात्रुहरूलाई आग्रह गरिएको छ।