प्यूठान — चैत २९ गते गौमुखी गाउँपालिका–४ सुंगुरखालस्थित चुपाल सामुदायिक वनमा भएको गोलीकाण्डको रहस्य एउटा पुरानो किप्याड मोबाइलबाट खुलेको प्रहरीले जनाएको छ। घटनास्थलमै फेला परेको उक्त मोबाइल नै अनुसन्धानको मुख्य आधार बनेपछि अभियुक्तको पहिचान र गिरफ्तारी सम्भव भएको हो।
राति करिब ११ बजेतिर वन क्षेत्रमा गोली चल्दा नौबहिनी गाउँपालिका–४ का १९ वर्षीय सुशील परियारको घटनास्थलमै मृत्यु भएको थियो। गोली उनको टाउको र काँधको पछाडिको भागमा लागेको प्रहरीले जनाएको छ। सोही घटनामा १८ वर्षीया एक किशोरी घाइते भएकी छन् र उनको उपचार लुम्बिनी सिटी अस्पताल, बुटवलमा भइरहेको छ।
प्रारम्भमा अज्ञात व्यक्तिबाट गोली प्रहार भएको अनुमान गरिएको थियो। तर घटनास्थलको खोजतलासका क्रममा फेला परेको किप्याड मोबाइलले अनुसन्धानलाई नयाँ मोड दिएको हो।
जिल्ला प्रहरी प्रमुख डिएसपी नरहरि अधिकारीका अनुसार उक्त मोबाइलमा लगातार कल आइरहेको देखिएपछि नम्बर ट्र्याक गर्दा गौमुखी–४ खलाबाङका २७ वर्षीय विक्रम केसीसँग सम्बन्धित रहेको पुष्टि भयो। त्यसपछि उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले गोली चलाएको स्वीकार गरेको प्रहरीले जनाएको छ।
प्रहरीसँगको बयानमा केसीले आफ्ना भाइ र अन्य दुई जनासँग शिकार खेल्न जंगल गएको बताएका छन्। फर्किने क्रममा झाडी हल्लिएको आवाज सुनेपछि जंगली बँदेल ठानेर भरूवा बन्दुक चलाएको उनले बताएका छन्।
“जंगली बँदेल ठानेर गोली चलाएँ,” भन्ने उनको बयान उद्धृत गर्दै प्रहरीले जनाएको छ, “गोली लागेपछि मान्छे चिच्याउन थाले, डर लागेर हामी भाग्यौं।”
भाग्ने क्रममा अभियुक्तको मोबाइल घटनास्थलमै खसेको र त्यही मोबाइलले अनुसन्धान सहज बनाएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा प्रयोग भएको भरूवा बन्दुक जंगल नजिकैको ओडारमा लुकाइएको अवस्थामा बरामद गरेको छ। साथै, केसीले गोठमा लुकाइराखेको अर्को एक नाले पुरानो बन्दुक पनि फेला परेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको छ। मृतकका परिवारले ज्यानसम्बन्धी कसुरमा उजुरी दिएपछि चारै जनाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।