बालेन सरकारका १०० दिन कार्यसूचीको ट्र्याकिङ गर्न ‘प्रतिपक्ष डटकम’ सार्वजनिक—सरकारमाथि डिजिटल निगरानी सुरु

बालेन शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको १०० बुँदे शासकीय सुधार कार्यसूचीको प्रत्यक्ष निगरानी गर्न ‘प्रतिपक्ष डटकम’ नामक वेबसाइट सञ्चालनमा आएको छ।

नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृत गरी सार्वजनिक गरेको उक्त कार्यसूचीलाई आधार बनाएर वेबसाइट तयार गरिएको हो, जसमा २४ घण्टादेखि १०० दिनभित्र सम्पन्न गर्ने लक्ष्यसहितका कार्यक्रम समेटिएका छन्।

कार्यसूचीमा प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाह, डिजिटल शासन, सुशासन, भ्रष्टाचार नियन्त्रण, ऊर्जा, स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार र सामाजिक सुरक्षाजस्ता विविध क्षेत्रका योजना समावेश छन्।

‘प्रतिपक्ष डटकम’ले ती सबै प्रतिबद्धतालाई आधार बनाएर कामको प्रगतिअनुसार वर्गीकरण गरेको छ। वेबसाइटमा कति काम पूरा भए, कति प्रक्रियामा छन्, कति कार्यान्वयन हुन सकेनन् र कतिको सुरुवात नै भएको छैन भन्ने विवरण देख्न सकिन्छ।

यसका साथै, हरेक कामको समयसीमा, वर्तमान अवस्था र बाँकी दिनसमेत स्पष्ट रूपमा उल्लेख गरिएको छ। वेबसाइट नेपाली र अङ्ग्रेजी दुवै भाषामा उपलब्ध छ।

प्राविधिक रूपमा एआई टुल प्रयोग गरी ‘भाइब कोडिङ’बाट निर्माण गरिएको यो प्लेटफर्मले १०० ओटै प्रतिबद्धताको सङ्क्षिप्त विवरण प्रस्तुत गरेको छ।

तर, वेबसाइट कसले सञ्चालन गरिरहेको हो, डेटा कसरी संकलन र मूल्याङ्कन भइरहेको छ भन्ने विषय भने सार्वजनिक गरिएको छैन, जसले यसको विश्वसनीयतामाथि प्रश्न उठाएको छ।

balen
Comments (0)
Add Comment