काठमाडौं । उपत्यकाका विभिन्न खोला किनारबाट हटाइएका सुकुमबासीका बन्दोबस्तीका सामान साढे दुई महिनादेखि दशरथ रंगशालामा बेवारिसे अवस्थामा थन्किएका छन्।
सरकारले गत वैशाख दोस्रो साता काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुमबासी बस्तीमा डोजर चलाएर उनीहरूलाई अस्थायी रूपमा रंगशालामा राखेको थियो। त्यसपछि क्रमशः भक्तपुर, कीर्तिपुरलगायतका स्थानमा बनाइएका होल्डिङ सेन्टरतर्फ सारिएको थियो।
तर, होल्डिङ सेन्टरमा स्थानान्तरण गर्ने क्रममा छुटेका उनीहरूको घरायसी सामान अझै रंगशालामै अलपत्र अवस्थामा रहेको छ। लामो समयसम्म बेवास्ता हुँदा वर्षाका कारण धेरैजसो सामान भिजेर कुहिन थालेका छन् भने वरपर दुर्गन्धसमेत फैलिएको रंगशालाका कर्मचारीहरूले बताएका छन्।
कर्मचारीहरूका अनुसार सम्बन्धित व्यक्तिहरूलाई सामान लैजान बारम्बार आग्रह गरिए पनि हालसम्म कुनै चासो देखाइएको छैन। यसले रंगशालाको सरसफाइ तथा व्यवस्थापनमा समेत समस्या थपिएको उनीहरूको भनाइ छ।