५० हजारको प्रलोभन देखाएर ललितपुरमा १७ वर्षीया किशोरीको डिम्ब झिकियो

काठमाडौं । ललित पुरमा १७ वर्षीया किशोरीलाई प्रलोभनमा पारेर अवैध रूपमा डिम्ब (अन्डा) झिकिएको घटना सार्वजनिक भएको छ । सुरुमा ५० हजार रुपैयाँ दिने आश्वासन दिइए पनि किशोरीलाई ३० हजार रुपैयाँ मात्रै दिइएको र त्यसपछि स्वास्थ्य समस्या आएपछि उपचारका लागि रकम अभाव खेप्नु परेको पीडितको गुनासो छ ।

पीडित किशोरीका अनुसार उनलाई साथीमार्फत “डिम्ब दिँदा केही हुँदैन, यो महिनैपिच्छे खेर जाने कुरा हो, पैसा पनि आउँछ” भन्दै फकाइएको थियो । त्यसपछि उनलाई एक एजेन्टको सम्पर्कमा पुर्‍याइएको र सो एजेन्टले थप विश्वस्त पार्दै ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी आईभीएफ सेन्टरमा लगेको बताइएको छ ।

किशोरीका अनुसार सुरुमा इन्जेक्सन लगाएर डिम्ब विकास गराइएको थियो । करिब एक हप्ता–दश दिनपछि असार १४ गते डिम्ब झिकिएको हो । डिम्ब झिकेपछि भने उनको स्वास्थ्य अवस्था अचानक बिग्रिएको, कमजोरीका कारण ढल्ने अवस्थासम्म पुगेको उनले बताइन् ।

स्वास्थ्य समस्या देखिएपछि किशोरीले परिवारलाई घटना सुनाएकी थिइन् । त्यसपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो ।

घटनापछि पीडित परिवारले जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएको छ । परिसरका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको छ । यस प्रकरणमा संलग्न रहेको आरोपमा लमजुङ घर भई ललितपुर बस्दै आएकी २१ वर्षीया राधिका गोतामेलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मानव बेचबिखनसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यद्यपि, पीडित पक्षले डिम्ब झिक्ने चिकित्सकमाथि कारबाही नभएको भन्दै असन्तुष्टि जनाएका छन् । “मुख्य दोषी नै डिम्ब निकाल्ने डाक्टर हो भने उनी किन पक्राउ पर्दैनन् ?” पीडित पक्षको प्रश्न छ । प्रहरीले भने घटनामा संलग्न सबै व्यक्तिलाई प्रमाणका आधारमा कारबाही गरिने जनाएको छ ।

नेपालमा निःसन्तान दम्पतीलाई सन्तान प्राप्तिका लागि अन्य महिलाको डिम्ब प्रयोग गरिन्छ । यस प्रक्रियालाई आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) भनिन्छ । तर, यसका लागि सरकारले निश्चित मापदण्ड तोकेको छ ।

‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड २०८२’ अनुसार डिम्बदान गर्ने महिलाको उमेर २० देखि ३५ वर्षभित्र हुनुपर्ने, जीवनमा बढीमा ६ पटकसम्म मात्रै डिम्बदान गर्न पाइने र प्रत्येक दानबीच कम्तीमा तीन महिनाको अन्तर हुनुपर्ने व्यवस्था छ । साथै, सुसूचित मञ्जुरी, स्वास्थ्य परीक्षण र सम्भावित जोखिमबारे जानकारी दिनु अनिवार्य गरिएको छ ।

तर ललितपुरको यो घटनामा १७ वर्षीया किशोरीबाट डिम्ब झिकिएकोले प्रचलित कानुन र मापदण्डको गम्भीर उल्लङ्घन भएको देखिन्छ ।

यसअघि पनि डिम्ब तस्करीका यस्ता घटनाहरू सार्वजनिक भइसकेका छन् । प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मार्फत २०८२ असारमा यस्तै प्रकरणमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा किशोरीहरूलाई ८–१० हजार रुपैयाँ दिएर डिम्ब संकलन गरी लाखौं रुपैयाँमा बेचबिखन हुने गरेको खुलासा भएको थियो ।

तर तीमध्ये केही प्रकरणमा मुद्दा नचलाइएको भन्दै आलोचना समेत भएको थियो । पछिल्लो घटनाले पुनः डिम्ब तस्करी र नियमनको कमजोरीबारे प्रश्न उठाएको छ ।

dimba
Comments (0)
Add Comment