प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुधन किरातीले पार्टीसँगको आफ्नो औपचारिक सम्बन्ध अन्त्य गर्ने घोषणा गरेका छन्।
उनले एक सार्वजनिक सन्देशमार्फत अब पार्टीको साधारण सदस्यसमेत नरहने निर्णय गरेको जानकारी गराएका हुन्। करिब पाँच महिनासम्म पार्टीमा रहँदा प्राप्त अनुभवलाई “अमूल्य सम्पत्ति” का रूपमा लिएको उल्लेख गर्दै उनले यस अवधिमा मार्गदर्शन गर्ने नेताहरू, साथ दिने सहकर्मी तथा कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। उनले संगठनसँगको औपचारिक सम्बन्ध टुटे पनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध कायम रहने विश्वास व्यक्त गरेका छन्। साथै, जनताको भरोसा र सहिदहरूको अधुरो सपनालाई आत्मसात गर्दै देश र जनताको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। “जस्तोसुकै परिस्थिति आए पनि समाज रूपान्तरणको यात्राबाट पछि नहट्नेछु,” उनले भनेका छन्।