काठमाडौं – सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ का रूपमा चिनिने कुमार थापा मगरसँग जोडिएको एक गम्भीर आपराधिक घटनाले राजधानी काठमाडौंमा सनसनी फैलाएको छ। श्रीमान–श्रीमतीबीच लामो समयदेखि जारी वैवाहिक विवाद अन्ततः हिंसात्मक रूप लिँदा श्रीमती ईश्वरी भुजेलमाथि चक्कु प्रहार भएको घटना सार्वजनिक भएको हो।
प्राप्त जानकारीअनुसार, हिजो बेलुका करिब ९:४५ बजे काठमाडौं –तारकेश्वर वडा न ६ पयुटारको एक सुनसान सडकमा कुमार थापा मगर र उनकी श्रीमती इश्वरी भुजेलबीच विवाद चर्किएको थियो। सोही क्रममा ज्यान जोगाउन भुजेल स्कुटरमार्फत भाग्ने प्रयास गरेकी थिइन्। तर, भाग्दै जाँदा उनी निकास नभएको साँघुरो गल्लीमा पुग्दा थापा मगरले पछ्याएर चक्कु प्रहार गरेको दृश्य सिसिटिभीमा कैद भएको स्थानीय स्रोतले जनाएको छ।
घटना रातको समय भएकाले वरपर मानिसको उपस्थिति न्यून रहेको थियो। केही समयपछि एक स्थानीयले भुजेललाई घाँटीमा गहिरो चोट, शरीरभरि रगत लागेको र अचेत अवस्थामा फेला पारेका थिए। सोही क्रममा आएको मोबाइल फोन स्थानीयले उठाउँदा छोराको फोन भएको खुलेको र परिवारलाई घटनाबारे जानकारी गराइएको बताइएको छ।
घाइते भुजेललाई तत्काल उपचारका लागि तारकेश्वर सिटि हस्पिटल पुर्याइएको थियो। तर, अवस्था अत्यन्त गम्भीर रहेकाले चिकित्सकले बाँच्ने सम्भावना न्यून रहेको जानकारी दिएका थिए। त्यसपछि थप उपचारका लागि एम्बुलेन्समार्फत अन्य अस्पतालतर्फ सारिएको स्रोतले जनाएको छ।
ईश्वरी भुजेल नेपाली सेनामा सुबेदार पदमा कार्यरत रहेको खुलेको छ। देशको सुरक्षा जिम्मेवारी सम्हालेकी एक महिला आफैं घरेलु हिंसाको सिकार बन्नु गम्भीर चिन्ताको विषय बनेको छ। दम्पतीका दुई छोरा रहेका छन्, जसमा एक जना ११ कक्षाको परीक्षा दिएर बसेका छन् भने अर्का चार वर्षका रहेका छन्।
घटनापछि आरोपी कुमार थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बालाजु प्रहरी वृत्तले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ। घटनास्थल नजिकैबाट एक धारिलो चक्कु समेत बरामद गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।
घटनापछि पीडित पक्षका आफन्त तथा स्थानीयवासीहरूले बालाजु प्रहरी कार्यालय अगाडि भेला भई दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। यसैबीच पूर्व गृहमन्त्री सुदन गुरुङले पनि घटनास्थल पुगेर पीडित परिवारसँग भेटघाट गर्दै न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस घटनाले वैवाहिक विवाद, मानसिक तनाव र घरेलु हिंसाका विषयमा पुनः गम्भीर बहस आवश्यक रहेको देखाएको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।