ब्ल्याक बेल्ट तथा ग्रेडिङ कार्यक्रममा तीन चेलीलाई डीएसपी बिष्टद्वारा सम्मान, नयाँ वर्षको अवसरमा तेक्वान्डो खेलाडीहरूलाई प्रेरणा
काठमाडौं, २०८२ बैशाख २७ —
गुजेश्वरी तेक्वान्डो डोजो र सिर्जना ज्ञानसागर स्कुलको संयुक्त आयोजनामा आयोजित ब्ल्याक बेल्ट तथा ग्रेडिङ कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि बालाजु प्रहरी वृत्तका प्रमुख डीएसपी ज्ञानबहादुर बिष्टले तीन जना चेलीहरूलाई ब्ल्याक बेल्ट हस्तान्तरण गर्नुका साथै सम्पूर्ण खेलाडीहरूलाई तेक्वान्डोमार्फत राष्ट्रसेवामा लाग्न प्रेरणा दिएका थिए।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा तारकेश्वर नगरपालिका–४ का वडा अध्यक्ष नरेन्द्र दास श्रेष्ठ, अतिथि मेजर पशुराम श्रेष्ठ, सिर्जना ज्ञानसागर स्कुलका प्रिन्सिपल राजेन्द्रप्रसाद फुयाल, बालाजु बाइसधारा क्लबका अध्यक्ष विजय तामाङ, ककनी मिडियाका वरिष्ठ सल्लाहकार ओनारायण श्रेष्ठ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी तथा तारकेश्वर खेलकुद समितिका उपाध्यक्ष र दोजाङ प्रमुख फिरोज श्रेष्ठ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी प्रदिप आले मगर, ककनी मिडियाका सञ्चालक रमित बलामी, र नोर मिडियाका क्यामरापर्सन तथा रिपोर्टर रुपेश भट्टको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा ब्ल्याक बेल्ट प्राप्त गर्ने खेलाडीहरू — निर्देशिका तामाङ, निलम महर्जन र आइल्यान्ड थापा — लाई डीएसपी बिष्टले औपचारिक रूपमा बेल्ट वितरण गर्दै, खेलकुदले व्यक्तित्व निर्माण, आत्मरक्षा र राष्ट्रसेवामा योगदान दिन सक्ने महत्वपूर्ण माध्यम भएको बताए।
उनले भने, “तेक्वान्डोजस्ता अनुशासित खेलले भावी दिनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतका राष्ट्रसेवक बन्ने बाटो खोल्दछ।“
ग्रेडिङ एफ सेमिनार अन्तर्गत आयोजित कार्यक्रममा नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान गरिनुका साथै विभिन्न तह र तप्काबाट सहभागी भएका खेलाडीहरूलाई सम्मान र उत्साह दिइएको थियो। जनचेतनामूलक सन्देशसहित नयाँ बेल्ट प्राप्त गरेका खेलाडीहरूलाई समेत प्रोत्साहन प्रदान गरिएको थियो।
कार्यक्रम आयोजक संस्था गुजेश्वरी तेक्वान्डो डोजो र सिर्जना ज्ञानसागर स्कुलले भविष्यमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।