सरकारी स्वास्थ्य चौकीको फ्रिज व्यक्तिको मासु पसलमा
नुवाकोटको ककनी गाउँपालिका–१,
सिसडोलमा रहेको स्वास्थ्य चौकीका लागि काठमाडौं महानगरपालिकाले प्रदान गरेको फ्रिज चौकीमा नपुगी मासु पसलमा प्रयोग भएको खुलेको छ।
महानगरको वातावरण विभागले आर्थिक वर्ष २०७९/८० मा स्वास्थ्य चौकीलाई १९० लिटरको फ्रिज दिएको थियो। स्वास्थ्य सेवा विस्तार तथा भ्याक्सिन भण्डारणको आवश्यकताका कारण फ्रिज माग गरिएको थियो। तर, सो फ्रिज चौकीका खरिदार श्यामलाल बलामीले आफ्नो तारकेश्वर–४ मा रहेको मासु पसलमा लगेर प्रयोग गरेका थिए।
महानगरका कर्मचारीका अनुसार, सूचना पाएपछि फ्रिज जफत गर्न खोज्दा उक्त फ्रिज पूरी रगतले लत्पतिएको अवस्थामा भेटिएको थियो।
वातावरण विभागकी प्रमुख सरिता राईका अनुसार, “फ्रिज चौकीमा नपुगी मासु पसलमा प्रयोग भएको पुष्टि भएको छ। त्यसको साटो नयाँ फ्रिज ल्याएर ह्यान्डओभर गरिएको हो।”
तर, मागफाराम र खरिद बिलअनुसार नयाँ ल्याइएको फ्रिज स्वीकृत नमूना अनुसार नभएको महानगरका कर्मचारीले बताएका छन्। अहिले त्यो फ्रिज टेकुस्थित वातावरण विभागमै रहेको छ।
श्यामलाल बलामी नेकपा एमाले निकट कार्यकर्ता हुन्। उनी २०७९ को स्थानीय चुनावमा वडाध्यक्षको दावेदारसमेत थिए। राजनीतिक संरक्षणकै कारण घटनालाई गुपचुप मिलाउने प्रयास भएको आरोप समेत लागेको छ।
स्वास्थ्य चौकीको उपकरण निजी स्वार्थका लागि प्रयोग भएको यो घटना जनस्वास्थ्य, पारदर्शिता र सार्वजनिक सम्पत्तिको सदुपयोगसम्बन्धी गम्भीर प्रश्न उठाउने खालको बनेको छ।
फ्रिज मासु पसलमा : “खरिदार बलामीको भ्याक्सिन माथिको छुरा !”
काठमाडौंको फोहोरले सिसडोल पुरिएको छ, अनि त्यही सिसडोलमा भ्याक्सिन राख्न दिइएको फ्रिज खरिदार बलामीले मासु राख्न प्रयोग गर्छन् ! यो जनस्वास्थ्य माथिको नाङ्गो खेलबाड होइन त?
भ्याक्सिन राख्न दिइएको फ्रिज — त्यो पनि महानगरकै बजेटबाट — सिधै मासु पसलमा पुगेको छ। त्यो फ्रिज रगतले लत्पतिएको अवस्थामा भेटिएको छ। यस्तो घिनलाग्दो दुरुपयोग गर्दा पनि कुनै कारबाही छैन। किन?
किनकि श्यामलाल बलामी नेकपा एमालेका सक्रिय कार्यकर्ता हुन्।
किनकि उनले चुनावमा उम्मेदवारी दिएका थिए।
राजनीति गर्ने लाइसेन्स पाएपछि जनता माथि जे गरे पनि हुन्छ?
महानगरले के गर्यो त ?
“फ्रिज बिग्रिएको रहेछ, त्यसैले नयाँ ल्यायो रे!”
के सार्वजनिक सम्पत्ति यति सस्तो छ?
कसैले भ्याक्सिन राख्ने फ्रिज मासु पसलमा राखेपछि ‘साटिदिन्छु’ भने पुग्छ?
👉 राज्य संयन्त्रभित्र ‘सिस्टम’ भन्दा ‘सम्बन्ध’ बलियो छ।
👉 स्वास्थ्य उपकरणको दुरुपयोग अपराध होइन, राजनीतिक सौदा हो।
👉 महानगर स्वयं पनि यो भ्रष्टाचारमा सहभागी बनेको छ।
हाम्रो प्रश्न छ —
🔺 बलामीलाई कारबाही किन गरिएन?
🔺 महानगरकै स्रोत प्रयोग गरेर खरिद गरिएका सामानको ट्र्याकिङ कहाँ छ?
🔺 सरिता राईजस्ता अधिकारीले किन सार्वजनिक रूपमा फ्रिज प्रयोगबारे छलफल र छानबिनको आह्वान गरेनन?
यो घटना एक सरकारी उपकरण मासु पसलमा पुर्यिएको मात्र होइन, यो हाम्रो स्वास्थ्यप्रति सरकारको चरम लापरवाहीको प्रतिबिम्ब हो।