सांसद सुमना श्रेष्ठको कटाक्ष : “राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्ने थियो प्रधानमन्त्रीको”
📍 काठमाडौं, २०८२ वैशाख ९
काठमाडौं – शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जालमार्फत तीव्र प्रतिक्रिया दिएकी छन्। उनको सचिवालयबाट सांसद श्रेष्ठको आधिकारिक फेसबुक पेजमा लेखिएको स्टाटसमा भनिएको छ, “राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्ने थियो प्रधानमन्त्रीको। तर, ‘त्यो पर्दैन’, हैन त?”
शिक्षकहरूले विद्यालय शिक्षा ऐन पारित गर्न दबाब दिँदै मुलुकभर आन्दोलन गरिरहेका बेला भट्टराईले सोमबार प्रधानमन्त्री समक्ष राजीनामा दिएकी हुन्। लामो समयदेखि प्रधानमन्त्री र शिक्षामन्त्रीबीच विद्यालय शिक्षा विधेयकसम्बन्धी मतभेद रहँदै आएको थियो।
सूत्रहरूका अनुसार हालै सम्पन्न पार्टी बैठकमा शिक्षामन्त्री भट्टराईले प्रधानमन्त्रीले ‘विद्यालय शिक्षा विधेयक’ बारे सार्वजनिक रूपमा जथाभाबी बोल्ने गरेकोप्रति आपत्ति जनाएकी थिइन्। प्रधानमन्त्रीले निजी विद्यालयहरूमा लगानी भित्र्याउने र सरकारी लगानी सुरक्षित गर्ने अभिव्यक्तिप्रति शिक्षामन्त्री असन्तुष्ट रहेको स्रोतले जनाएको छ।
भट्टराईले विद्यालय शिक्षा विधेयकको मस्यौदामा व्यापक परामर्शको आवश्यकता रहेको बताउँदै आएका थिए, तर प्रधानमन्त्रीको शैली र हस्तक्षेपप्रति असन्तुष्टि चुलिँदै गएको थियो।
शिक्षामन्त्रीको राजीनामासँगै शिक्षा क्षेत्रमा भइरहेको आन्दोलन र अस्थिरताको बीचमा सत्ता गठबन्धनभित्रको अन्तरविरोध थप सतहमा आएको देखिएको छ।