सामाजिक अभियन्ता आशिका तामाङ्गसँगको विवाद सुल्झाउँदै अध्यक्ष घलेले सार्वजनिक गरे फेसबुक स्टाटस

41

नुवाकोट, साउन ८ 
सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्त बहादुर घलेले केही दिनअगाडि सामाजिक सञ्जालमा सार्वजनिक भएको एक विवादास्पद भिडियोको सन्दर्भमा स्पष्टिकरण दिंदै फेसबुकमा लामो स्टाटस लेखेका छन्। उक्त स्टाटसमा उनले सामाजिक अभियन्ता आशिका तामाङसँगको भेट, कुराकानी, र भिडियो हटाउने निर्णयको बारेमा जनतालाई जानकारी दिएका छन्।

केहि दिन अघि गाउँपालिका भवन नजिक निर्माणाधीन पार्कसँग सम्बन्धित भिडियो सार्वजनिक भएपछि अध्यक्ष घलेले त्यसमा आपत्ति जनाएका थिए। उनले त्यसलाई नियतवश आक्षेप लगाइएको प्रतिक्रिया दिएका थिए। सोही प्रसंगलाई लिएर आशिका तामाङले अध्यक्ष घलेसँग प्रत्यक्ष भेटघाट र संवाद गरिन्।

अध्यक्ष घलेले भनेअनुसार, आशिका तामाङले ४ गते बिहान फोन गरेर विगतमा जानकारीको अभावमा गल्ती भएको भन्दै माफी मागिन् र काठमाडौंमा भेट गर्न चाहेको बताइन्। त्यसपछि ६ गते तारकेश्वर सानो पुलमा भेट हुँदा, आशिका तामाङले आफूले बनाएको भिडियो आफैँले डिलिट गरिन्। अध्यक्ष घलेले आफूप्रति लागेको आरोपमा पुनः स्पष्टिकरण दिएका छन् र आफूबाट कुनै नियतवश गल्ती नभएको दाबी गरेका छन्।

स्टाटसमा अध्यक्ष घले लेख्छन्— “सबैलाई अनुरोध गर्न चाहन्छु, काम गर्दा कमिकमजोरी हुन सक्छ, तर नियत प्रमुख हो।” उनले समाजिक अभियन्ता आशिका तामाङलाई पनि धन्यवाद व्यक्त गरेका छन्।

पृष्ठभूमि:
सूर्यगढी गाउँपालिकाको निर्माणाधीन भवन नजिक बनिरहेको पार्कबारे सामाजिक अभियन्ता आशिका तामाङले केही दिन अघि सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेकी थिइन्। अध्यक्ष घलेले त्यसलाई पक्षपाती र अपमानजनक भन्दै आपत्ति जनाएका थिए। पछिल्लो घटनाक्रमले दुवै पक्षबीच संवाद र सहमतिबाट विवाद समाधान भएको देखिएको छ।

ककनी मिडियाको टिप्पणी:
स्थानीय तहका प्रतिनिधिहरू र सामाजिक अभियन्ताहरूबीच खुलेर संवाद हुन थालेको यो घटनालाई सकरात्मक संकेतका रूपमा लिन सकिन्छ। लोकतन्त्रमा आलोचना स्वाभाविक भए पनि त्यसको आधार तथ्यमा आधारित हुनुपर्ने आवश्यकता अझ बलियो देखिन्छ।

Leave A Reply

Your email address will not be published.