सूचनाविना लाइन छाड्दा करेन्ट लागेर एक मजदुरको मृत्यु, विद्युत् प्राधिकरणको लापरबाहीले लिए ज्यान

19

धुलिखेल, काभ्रेपलाञ्चोक — सूचनाविना विद्युत् लाइन छाड्दा काभ्रेको धुलिखेलमा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। शनिबार बिहान धुलिखेल नगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालय अगाडिको खम्बामा काम गरिरहेका सर्लाही ईश्वरपुर नगरपालिका–१२ का २८ वर्षीय उपेश परियारको ज्यान गएको हो।

नेपाल विद्युत् प्राधिकरणको काभ्रेपलाञ्चोक वितरण केन्द्रअन्तर्गतको ११ हजार भोल्टको हाइटेन्सन लाइनमा चढेर काम गरिरहेका परियारलाई बिहान ११ः३० बजे अचानक करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार मृतक परियार तार जोड्ने कार्यका लागि खम्बामा चढेका थिए। तर, विद्युत् प्राधिकरणले कुनै पूर्वसूचना नदिई लाइन चार्ज गरेपछि दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मीनबहादुर घलेका अनुसार घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरको नेतृत्वमा टोली खटाइएको छ।

उता, विद्युत् प्राधिकरण काभ्रेपलाञ्चोक वितरण केन्द्र बनेपाले शुक्रबार मात्रै एक सूचना जारी गर्दै शनिबारदेखि ११ केभी लाइन चार्ज गरिने जानकारी दिएको थियो। तर, मृतक मजदुर वा निर्माण टोलीलाई प्रत्यक्षरूपमा जानकारी नदिएको आरोप स्थानीयस्तरमा उठेको छ। सूचनामा गाईवस्तु नछोड्न र खम्बालगायत विद्युतीय सामग्री नछुन अनुरोध गरिएको भए पनि कामदार सुरक्षाको व्यवस्था भने सुनिश्चित गरिएको थिएन।

मृतक परियारको शवलाई खम्बाबाट निकालेर धुलिखेल अस्पतालमा राखिएको छ। घटनाले विद्युत् प्राधिकरणको लापरबाही र कार्यस्थलमा सुरक्षा सावधानीको अभावप्रति गम्भीर प्रश्न खडा गराएको छ।

Leave A Reply

Your email address will not be published.