बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिँदै, देशका विभिन्न भागमा वर्षा र हावाहुरीको सम्भावना
काठमाडौं, बैशाख १५ —
हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायम रहेको छ भने बङ्गालको खाडीबाट समेत जलवाष्पयुक्त हावा भित्रिइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरस्वरूप अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ।
महाशाखाका अनुसार बागमती प्रदेशका केही स्थानहरू तथा कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा हल्का वर्षा भइरहेको छ।
पूर्वानुमानअनुसार सोमबार (आज) कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा हुने सम्भावना छ। लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागका केही ठाउँ र बाँकी प्रदेशहरूका एक–दुई स्थानमा समेत यस्तै मौसमी गतिविधि देखिन सक्नेछ।
मौसममा देखिने तीव्र उतारचढावले कृषि, दैनिक जनजीवन, सडक यातायात तथा हवाई उडानमा समेत असर गर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम महाशाखाले सबैलाई आग्रह गरेको छ।