श्रम रोजगारीका सबै अवसर नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री ओली

6

काठमाडौं, वैशाख 18 – प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको हितमा श्रम र रोजगारीका सम्पूर्ण अवसरहरू सबै नागरिकसम्म पुग्नुपर्ने स्पष्ट धारणा राखेका छन्। १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रम मन्त्रालयले विकास गरेको ‘श्रम संसार पोर्टल’ को शुभारम्भ गरेका हुन्।

कार्यक्रममा प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारमा देखिएका चुनौतीहरू नियन्त्रण गर्न आवश्यक रहेको बताए। उनले श्रमिकमाथि हुने शोषण रोक्न र प्रविधिको सहायताले श्रम बजारलाई पारदर्शी बनाउने दिशामा सरकार अगाडि बढिरहेको जानकारी दिए।

“श्रम, रोजगार तथा सामाजिक सुरक्षाका सम्पूर्ण सेवा सबै नेपालीको पहुँचमा पुर्‍याउन श्रम संसार पोर्टललाई नागरिक एपमा आबद्ध गरी पहुँच अभिवृद्धि गर्नुपर्छ,” – प्रधानमन्त्री ओली

उनले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न सूचना प्रविधिको उच्चतम प्रयोग आवश्यक रहेको बताए। “ज्ञानमा आधारित समाज, डिजिटल अर्थतन्त्र, र प्रविधिमैत्री सेवा प्रवाहमार्फत मात्र समृद्धिको आधार तयार हुन्छ,” प्रधानमन्त्रीको भनाइ थियो।

श्रम मन्त्रालयका अनुसार ‘श्रम संसार प्रणाली’ श्रम तथा रोजगार सेवाको विनिमय प्रणाली हो, जसले श्रम बजारमा माग र आपूर्तिको विश्लेषण, रोजगारीमा आबद्धता, रोजगारदाताको नियमन, समतामूलक सेवा पहुँच, र योग्यता विस्तारमार्फत संघीयताको लाभ जनस्तरसम्म पुर्‍याउने लक्ष्य लिएको छ।

प्रधानमन्त्रीले श्रम बजार सूचना प्रणाली निर्माण भइसकेको र सूचनामा आधारित नीति निर्माणको प्रक्रियामा सरकार अघि बढिरहेको बताए।

Leave A Reply

Your email address will not be published.