नागढुंगामा कुटपिट गर्ने र सहने दुवै प्रहरी जिम्मेवारीमुक्त, छानबिन अघि बढ्यो

9

काठमाडौं, २ जेठ — राजधानीको मुख्य प्रवेशद्वार नागढुंगामा प्रहरीबीच भएको कुटपिट घटनामा संलग्न दुवै जना प्रहरी कर्मचारीलाई हालको जिम्मेवारीबाट हटाइएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालका अनुसार, घटनामा संलग्न ट्राफिक इन्स्पेक्टर र जवान दुवैलाई हटाई प्रारम्भिक अनुशासन प्रक्रिया अघि बढाइएको छ।

बुधबार दिउँसो सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा एक ट्राफिक इन्स्पेक्टरले आफ्नै सहकर्मी प्रहरी जवानमाथि कुटपिट गरिरहेको दृश्य देखिएको थियो। भिडिओ भाइरल बनेसँगै प्रहरी प्रधान कार्यालयले ती दुबैलाई तत्काल मुख्यालयमा उपस्थित हुन निर्देशन दिएको थियो।

“दुवै जनालाई जिम्मेवारीबाट हटाएर आन्तरिक छानबिन प्रक्रिया सुरु गरिएको छ,” एसएसपी खनालले जानकारी दिए।

प्रहरी प्रशासनले घटनालाई गम्भीर रूपमा लिएको छ। “आफ्नै संगठनभित्र यस प्रकारको अनुशासनहीन व्यवहार अस्वीकार्य हो,” खनालले थपे। घटनाको विस्तृत अनुसन्धान भइरहेको र त्यसअनुसार थप कारबाही हुने जनाइएको छ।

Leave A Reply

Your email address will not be published.