निर्वाचन आयोगलाई चेतावनी, विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने
काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी नागरिक अङ्गभङ्ग तथा गम्भीर घाइते भएको उल्लेख गर्दै जेन्जी मुभमेन्ट नेपालले संरचनागत राजनीतिक सुधारबिनाको निर्वाचन अस्वीकार्य हुने चेतावनी दिएको छ।
आन्दोलनका प्रवक्ता विजय शाहद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ कि ती बलिदानहरू केवल २०८४ मा तय गरिएको निर्वाचन मिति २०८२ मा सार्नका लागि नभई राज्यको असफल शासन, विकृत निर्वाचन प्रणाली, दण्डहीनता र जनविरोधी शासकीय संरचनाविरुद्ध उठेको ऐतिहासिक प्रतिरोधका रूपमा भएका थिए।
वक्तव्यमा संविधान पुनर्लेखन, शासकीय स्वरूप र निर्वाचन प्रणालीको आमूल परिवर्तन, सार्वजनिक संस्थाहरूको गहिरो पुनर्संरचना, जेन्जी विद्रोहका क्रममा नागरिकमाथि भएको दमनमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही तथा तीन दशकदेखि देशलाई लुट्ने भ्रष्ट र लुटतन्त्रका मुख्य पात्रहरूलाई न्यायको कठघरामा उभ्याएपछि मात्र निर्वाचनको औचित्य रहने स्पष्ट गरिएको छ। यी आधारभूत राजनीतिक र संवैधानिक प्रश्नहरू बेवास्ता गर्दै जबरजस्ती निर्वाचन प्रक्रिया अघि बढाइए त्यसको सम्पूर्ण जिम्मेवारी राज्यका सम्बन्धित निकायहरूले स्वयंले वहन गर्नुपर्ने चेतावनी पनि दिइएको छ।


प्रेस वक्तव्यमा जनताको सहमति, न्याय र संरचनागत रूपान्तरणबिनाको निर्वाचन प्रक्रिया अगाडि बढाइए देशव्यापी शान्तिपूर्ण प्रतिरोधका कार्यक्रमहरू अघि बढाइने र त्यसबाट उत्पन्न हुने राजनीतिक, सामाजिक तथा संस्थागत परिणामहरूको जिम्मेवारी सम्बन्धित निकायहरूकै हुने स्पष्ट पारिएको छ।
आज निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची पेश गर्ने अन्तिम दिन हो।