नुवाकोट–२ मा घण्टीको आँधी : डा. अच्युतम लामिछाने २५ हजार मतसहित धेरै अगाडी
नुवाकोट, फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट क्षेत्र नम्बर २ मा मतगणना जारी रहँदा डा. अच्युतम लामिछाने ले स्पष्ट अग्रता कायम गरेका छन्। पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछाने २५ हजारभन्दा बढी मतसहित पहिलो स्थानमा रहँदा प्रतिस्पर्धी दलहरू पछाडि परेका छन्।

हालसम्म गणना भएका करिब ६० हजार मतमध्ये लामिछानेले २५,८७० मत प्राप्त गर्दै अग्रता बनाएका छन्। उनका निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसी ले १३,८४० मत ल्याएका छन् भने केशवप्रसाद पाण्डे ले ७,२७५ मत प्राप्त गरेका छन्।
त्यस्तै हितानाथ खतिवडा ले ६,१६४ मत पाएका छन् भने अन्य उम्मेदवारहरू निकै पछि परेका देखिन्छन्।

निर्वाचन कार्यालयका अनुसार हालसम्म ६० हजारभन्दा बढी मत गणना भइसकेको छ, जसमा करिब ५७ हजार मत सदर भएका छन् भने केही मत बदर भएका छन्।
विशेषगरी विभिन्न पालिकाबाट आउने मतपरिणामले डा. अच्युतम लामिछाने को पक्षमा जनमत बलियो रहेको संकेत गरिरहेको छ। यसअघि तारकेश्वर गाउँपालिकाका सबै वडामा घण्टीले अग्रता लिएपछि उनको जिततर्फको यात्रा थप मजबुत भएको विश्लेषण भइरहेको छ।
मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहे पनि हालसम्मको प्रवृत्तिले नुवाकोट–२ मा नयाँ राजनीतिक समीकरणको संकेत देखिन थालेको छ।