नुवाकोट–२ मा रास्वपाको टिकट विवाद: ढोग्ने शैलीदेखि स्थानीय नेतृत्वको असन्तोषसम्म
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नुवाकोट क्षेत्र नम्बर–२ का उम्मेदवार डा. अच्युत्तम लामिछानेको ढोग्ने शैलीलाई लिएर सामाजिक सञ्जाल फेसबुकमा व्यापक रूपमा व्यङ्ग्य सुरु भएको छ। उनको सार्वजनिक व्यवहार र प्रस्तुति नै अहिले सामाजिक सञ्जालको आलोचनाको केन्द्र बनेको छ।


त्यति मात्र होइन, टिकट पाउने निश्चितताका साथ लामो समयदेखि संगठन विस्तार गर्दै नुवाकोट–२ मा आफ्नो पकड बनाएका सुमन विक्रम पाण्डे जस्ता नेता अन्तिम दिनसम्म प्रचारमा खटिँदा पनि उम्मेदवारी नपाउनु रास्वपाभित्रको आन्तरिक विवादको कारण बनेको छ। पाण्डे मात्र होइन, पार्टीका लागि सक्रिय रूपमा खटिएका स्थानीय कार्यकर्ता र समर्थकहरू समेत उम्मेदवार छनोटप्रति असन्तुष्ट देखिएका छन्।
सामाजिक सञ्जाल तथा स्थानीय तहमा भइरहेको प्रतिक्रियामा रास्वपाले नुवाकोट–२ बाट हार्ने सम्भावना बलियो भएको दाबीसमेत गर्न थालिएको छ। टिकट वितरण प्रक्रियाले पार्टीको संगठनात्मक मनोबल खस्काएको र आन्तरिक एकतामा गम्भीर असर परेको टिप्पणीहरू सार्वजनिक भइरहेका छन्।

नुवाकोटका रास्वपा समर्थकहरूबीच ‘जिल्लाभित्रै डा. अच्युत्तम लामिछाने जत्तिकै क्यापेबल र नेतृत्व गर्न सक्ने व्यक्ति नभेटिएकै कारण बाहिरी जिल्लाको उम्मेदवारलाई टिकट दिइयो’ भन्ने विषयले पनि तीव्र असन्तोष पैदा गरेको छ। स्थानीय नेतृत्वलाई बेवास्ता गरिएको अनुभूति नुवाकोटका कार्यकर्ता तथा समर्थकहरूमा गहिरिँदै गएको देखिन्छ।
यसरी उम्मेदवार चयनको शैली, स्थानीय नेतृत्वको उपेक्षा र सार्वजनिक व्यवहारप्रति उठेको आलोचनाले नुवाकोट–२ मा रास्वपाको चुनावी रणनीतिमाथि नै प्रश्न खडा गरिदिएको छ।