पार्टी राजनीतिबाट निराश भएपछिनिराजन सन्जेलको स्वतन्त्र उम्मेदवारी घोषणा

190

धादिङ – धुनिबेसी नगरपालिका–१, भन्ज्याङ पोखरीका निराजन सन्जेलले लामो समयसम्म विभिन्न राजनीतिक दलमा आबद्ध भएर ‘परिवर्तन गर्छु’ भन्ने उद्देश्यसहित राजनीति गरे पनि पार्टी नेतृत्वकै कारण जनताका अधिकारसम्बन्धी मागहरू सम्बोधन गर्न नसकिएको निष्कर्षसहित स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।

पटक–पटक पार्टी नेतृत्वको निर्देशनमा विकास निर्माणका काम छिटो हुन्छ भन्दै जनतालाई आश्वासन दिने क्रममा आफूबाट पनि कमजोरी भएको स्वीकार गर्दै सन्जेलले अब कुनै पनि पार्टी वा नेताको दबाबमा नझुक्ने स्पष्ट पारे। जनताका अधिकार संस्थागत नभएसम्म निरन्तर संघर्ष गर्ने प्रतिबद्धतासहित उनले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि धादिङ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्।

उम्मेदवारी घोषणा तथा परिचयात्मक कार्यक्रम आज धुनिबेसी–१, भन्ज्याङ पोखरीमा सम्पन्न भएको थियो। कार्यक्रममा पूर्व प्रधानाध्यापकहरू, तीन–चार पुस्तादेखि मतदान गर्दै आएका वृद्ध मतदातासहित स्थानीय नागरिकको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि ७५ वर्षीय कुलप्रसाद बास्कोटा रहेका थिए भने विशेष अतिथिमा पूर्व प्रधानाध्यापक मुकुन्दप्रसाद पाठकलगायतको उपस्थिति थियो। सहभागी वक्ताहरूले पटक–पटक पार्टी र नेताहरूलाई विश्वास गर्दा पनि आफूहरू धोका खाएको अनुभव सुनाउँदै अब मत परिवर्तनको आवश्यकता रहेको धारणा व्यक्त गरे।

उक्त अवसरमा उम्मेदवार सन्जेलले नेताहरूको गलत निर्देशनलाई अँगाल्दा जनताका वास्तविक मागसँग नजिक हुन नसकेको भन्दै जनतामाझ माफी मागे। उनले परिणाममुखी कामका साथ हरेक नागरिकको अधिकार संस्थागत गर्न राज्यका जुनसुकै निकायमा पुगेर भए पनि लडिरहने प्रतिबद्धता व्यक्त गरे।

“यदि धादिङका जनताले मलाई अत्यधिक मतले विजयी गराउनुभयो र स्वतन्त्र भएकै कारण सिंहदरबारका ढोका बन्द गरिए भने, धादिङको सम्पूर्ण जनतालाई साथमा लिएर सिंहदरबार घेराउ गरेर भए पनि विकास गरेरै छाड्छु,” सन्जेलले आक्रामक अभिव्यक्ति दिए।

उनले नेताहरूले काम नै नगरेका होइनन् तर २० वर्षअघि सम्पन्न भइसक्नुपर्ने विकास आयोजनाहरू व्यक्तिगत स्वार्थका कारण अलपत्र परेको आरोप लगाए। अब बाँकी रहेका विकासका काम आफूले सम्पन्न गर्ने दाबी गर्दै उनले धादिङका सबै पार्टीका युवाहरूलाई सहयोगका लागि आह्वान गरेका छन्।

Leave A Reply

Your email address will not be published.