प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको निर्देशन:

76

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज), जिल्ला प्रहरी कार्यालय बाँके र बर्दियामा रहेका प्रहरी कर्मचारीहरूलाई महत्वपूर्ण निर्देशन दिए ।

सम्बोधनमा उनले जनविश्वास पुनर्स्थापना, सेवा प्रवाह सुधार, सुरक्षा चुनौतीको व्यवस्थित व्यवस्थापन र संगठनभित्रको अनुशासनलाई केन्द्रमा राखे।

कार्कीले प्रहरीको व्यवहारमै सुधार ल्याउनुपर्ने बताउँदै घटना हुँदा ढिलाइ, उजुरीप्रति बेवास्ता र जनतासँग कठोर व्यवहारले प्रहरी–नागरिक सम्बन्ध कमजोर बनाएको उल्लेख गरे। कर्णालीदेखि तराईसम्म बढिरहेको लागूऔषध, तस्करी, साइबर अपराध, मानव बेचबिखन र लैंगिक हिंसालाई उच्च–जोखिम अपराधका रूपमा लिएर “सूचना संकलन आक्रमक, हस्तक्षेप संयमित” हुन निर्देशन दिए।

संगठनभित्रको अनुशासनमा शून्य–सहिष्णुता अपनाइने भन्दै उनले आर्थिक अनियमितता, मदिरा दुव्र्यसन, सामाजिक सञ्जाल दुरुपयोग र गैर–पेसागत गतिविधिमाथि कडाइ हुने चेतावनी दिए। तालिम केन्द्रलाई पेशागत दक्षता र भविष्यका प्रहरी निर्माण गर्ने केन्द्रका रूपमा व्याख्या गर्दै साइबर क्राइम, समुदाय–मैत्री सेवा, फिजिकल फिटनेस र ट्राफिक मोडललाई प्राथमिकतामा राख्न भने।

बाँके–बर्दियालाई समुदाय–प्रहरी साझेदारीको मोडेल जिल्ला बनाउने संकेत दिंदै उनले विद्यालय, महिला र वडास्तरमा प्रहरी–जनता सहकार्य कार्यक्रम सशक्त बनाउन निर्देशन दिए।


समग्रमा, आईजीपी कार्कीको सम्बोधन प्रहरी सुधार, जनविश्वास र सुरक्षा संयन्त्रलाई एकीकृत रूपमा अघि बढाउने रणनीतिक सन्देशका रूपमा हेरिएको छ।

Leave A Reply

Your email address will not be published.