“१० वर्षपछि पासाङ ल्हामु राजमार्ग पिच भयो, ककनी–रानीपौवा यात्रा छिटो”
काठमाण्डौ/ककनी —
बागमती प्रदेशको ६५ किलोमिटर लामो पासाङ ल्हामु राष्ट्रिय राजमार्ग (NH 18), जसले काठमाडौं–नुवाकोट–रसुवा हुँदै चीन सीमा (रसुवागढी / स्याफ्रुबेसी) जाने वैकल्पिक उत्तर–दक्षिण मार्गको काम गर्छ, बिगत १० वर्षदेखि अधुरो र बिग्रिएको अवस्थामा रहँदै आएको थियो।

राजमार्ग निर्माणको नाममा पुरानो बाटो खन्ने र ठुलो बनाउने प्रयास भए पनि, समयमै काम नभएकाले सडक अझै अधुरो र जोखिमपूर्ण भयो।

दिनमा २००–३०० गाडी चल्ने यस मार्ग ठप्प हुँदा, ३५ किलोमिटरको क्षेत्रमा पर्ने रानीपौवा बजार, ककनी पर्यटक स्थल र स्थानीय व्यवसायहरू ठूलो असरमा परे। व्यवसायिक पसलहरू बन्द भए, स्थानीय व्यापार र जीवनस्तर खस्केको अवस्था देखियो।

बिगतका धेरै ठेकदारहरूले काम सुरु गर्न सकेनन् र बिचमा भागे। तर पछिल्ला वर्षहरूमा ‘मोतिदान कन्ट्रक्सन’ कम्पनीलाई नयाँ ठेक्का दिई धमाधम काम सुरु भएको छ।
हाल यस साता बाट कालोपत्रे (पिच) कार्य सुरु भइसकेको छ।
स्थानीय वासी र व्यवसायीहरू अब ककनी र बेलकोटगढि क्षेत्रमा जीवनस्तर फेरिने आशा गरिरहेका छन्।

काठमाण्डौ–ककनी पुग्न २ घण्टा लाग्थ्यो, अब पिच पूरा भएपछि २०–२५ मिनेटमै पुग्न सकिने सम्भावना देखिएको छ।
ककनीमा अब पर्यटकहरूले रसिला स्ट्रबेरी, मुला, आलु, काक्रा लगायत खेतीपातीको रमाइलो गर्न सक्नेछन्। साथै चिसो हावापानी, हिमचुली र रमणीय दृश्य अवलोकन गर्दै प्राकृतिक सौन्दर्यको आनन्द लिन सकिन्छ।
स्थानीयहरूले पूर्णतया सडक सञ्चालन भएपछि पर्यटक र स्थानीय जीवनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्।