कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई २ लाखसम्म कर्जा दिने आईजीपी कार्कीकाे निर्णय
काठमाडौं — नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले कार्यालय सहयोगीदेखि वरिष्ठ सई र तिनका आश्रित परिवारलाई आकस्मिक कर्जा उपलब्ध गराउने निर्णय गर्नुभएको छ।

आज पदभार ग्रहण गर्दै उहाँले नीति निर्माण समिति (पीसीसी) बैठकमार्फत प्रहरी कल्याण कोषबाट ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने निर्णय गर्नुभएको हो। यो कर्जा स्वास्थ्य, शिक्षा, घरायसी समस्यासमेतका आकस्मिक अवस्थामा उपलब्ध हुनेछ। कर्जाको सीमा दुई लाख रुपैयाँसम्म रहेको प्रहरीले जनाएको छ।
गएको सोमवार बसेको मन्त्रिपरिषद् बैठकबाट आइजीपीमा बढुवा हुनुभएका कार्कीले आज जिम्मेवारी सम्हाल्नुभएको हो।