ककनीमा नेपाली कांग्रेस नेतृत्वको निरीक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

296

ककनी — नेपाली कांग्रेस ककनी गाउँ कार्य समितिको आयोजनामा तिनपिप्ले हुँदै रानीपौवा क्षेत्रसम्मको विकास अवस्थाबारे निरीक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका विकासप्रेमी नेता, पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डॉ. प्रकाश शरण महत प्रमुख अतिथिको रुपमा सहभागी भए।

यसैक्रममा बागमती प्रदेशका सांसद रमेश कुमार महत सहित अन्य स्थानीय नेताहरू, जनप्रतिनिधि तथा कार्यकर्ताहरूको उपस्थितिले कार्यक्रमलाई अझ व्यापक र अर्थपूर्ण बनाएको थियो।

निरीक्षण टोलीले पासाङ्ग ल्हामु राजमार्ग अन्तर्गत तिनपिप्ले–रानीपौवा सडक खण्डका समस्या, ढिलाइ, गुणस्तर, निर्माणको अवस्था तथा स्थानीयले वर्षौंदेखि भोगिरहेको यातायात सम्बन्धी सास्तीबारे प्रत्यक्ष जानकारी लिनुभयो।

स्थानीय बासिन्दा, व्यापारी, किसान तथा युवा प्रतिनिधिसँग गरिएको अन्तरक्रियामा सडक, पर्यटन, कृषि–बजार पहुँच, पहिरो जोखिम तथा आवश्यक सरकारी समन्वयका विषयमा खुला छलफल भएको थियो।

प्रमुख अतिथि डा. महतले भने—

“पासाङ्ग ल्हामु राजमार्ग केवल सडक होइन, यो नुवाकोट–रसुवाको विकास र समृद्धिको मुख्य ढोका हो। निर्माणमा देखिएको ढिलाइ अन्त्य गर्न सरकार, ठेकेदार र सरोकारवालाले संयुक्त जिम्मेवारी लिनैपर्छ।”

उनले प्रदेश र संघीय तहले यो मार्गलाई दीर्घकालीन योजना सहित प्राथमिकतामा राख्नुपर्ने आवश्यकता पनि जोड दिए।

कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले सडक निर्माणको सुस्त गति, गुणस्तरहीन काम, वर्षायाममा हुने पहिरो, एम्बुलेन्स तथा विद्यार्थी यातायातमा पर्ने समस्या जस्ता मुद्दा खुलस्त रूपमा राखेका थिए।

ककनी गाउँ कार्य समितिका पदाधिकारीले नुवाकोट–रसुवा यात्रु, व्यवसायी र पर्यटकहरूको मुख्य आधारभूत पूर्वाधार भएकोले यो मार्गलाई दिगो रूपमा स्तरोन्नति गर्न कांग्रेस नेतृत्व निरन्तर रूपमा पहल गर्न तयार रहेको जनाएका छन्।

Leave A Reply

Your email address will not be published.