१५ जेठमा सडक कब्जा गर्ने ओलीको योजना: गणतन्त्र जोगाउने बहानामा भिडन्तको तयारी?
राजावादीहरूले १५ जेठमा ‘राजा फर्काउने’ आन्दोलनको घोषणा गरेपछि नेकपा एमालेले सोही दिन राजधानी काठमाडौंलाई ‘एमालेको नियन्त्रण’मा ल्याउने योजना बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले पार्टी बैठकमा कार्यकर्तालाई ११ देखि २ बजेसम्म सडकमा उत्रन निर्देशन दिएका छन्।
“१५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ,” ओलीले भनेका छन्। आन्दोलनको समयमा कुनै प्रोटोकल नमानिने बताउँदै उनले भिडन्तको संकेतसमेत दिएका छन्। उनले कार्यकर्तालाई “जे गर्नुपर्छ, तयार रहनुस्” भन्दै भिडमा लाग्न उक्साएका छन्।
तर ओलीको यस्तो अभिव्यक्तिले आलोचनाको साङ्लो खन्याएको छ। राप्रपाका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीको भनाइ संविधान र पदीय मर्यादाविपरीत भएको बताएका छन्। विश्लेषक सन्जीव पोखरेल भन्छन्, “राजावादीसँग बलियो एजेन्डा छैन, तर भिड लगाएर लोकतन्त्र जोगिन्छ भन्ने भ्रम पनि घातक हो।”
पोखरेलले थपे– “राजावादीको कमजोरी देखाएर होइन, आफू सुध्रिएर मात्रै गणतन्त्रको पक्षमा उभिन सकिन्छ। ओलीको शैली भिड खडा गर्ने हो, विचार प्रस्तुत गर्ने होइन।”
सत्ता चलाइरहेका दलले आलोचकहरूलाई सडकमै रोकेर हैन, जनतामाझ एजेन्डाले हराउनुपर्छ। तर १५ जेठको तयारी हेर्दा सत्ता नै भिडमा विश्वास गर्न थालेको देखिन्छ।
– काकनी मिडिया