विपत्तिमा दीपश्री ग्रुपको सहारा : नुवाकोटका बाढीपीडितका लागि दुई गाडी राहत सामग्री

31

नुवाकोट । प्राकृतिक विपत्तिका कारण ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेका नुवाकोटका बाढीपीडितका लागि दीपश्री ग्रुपले दुई गाडी राहत सामग्री उपलब्ध गराएको छ।

काठमाडौँबाट पठाइएको राहत सामग्रीमा खाद्यान्न, लत्ताकपडा, चाउचाउ, बिस्कुट, पेय पदार्थ, साबुन तथा सरसफाइका सामग्री, एन्टिसेप्टिक र आवश्यक औषधि लगायत विपत्तिको समयमा तत्काल आवश्यक पर्ने सामग्रीहरू छन्।

विपत्तिका कारण घरबारविहीन भएका तथा दैनिक जीवनयापनमै समस्या भोगिरहेका परिवारसम्म राहत पुर्‍याउने उद्देश्यले सामग्री प्रभावित क्षेत्रमा ल्याइएको हो।

राहत सामग्री वास्तविक पीडितसम्म पुर्‍याउने तथा आवश्यक भौतिक सहयोग व्यवस्थापन गर्ने कार्यमा सुभराज खत्री, मनोज तिम्सिना, रूपक बाँसुरी, टिकटकमार्फत सामाजिक अभियानमा सक्रिय कविना तामाङ तथा ककनी मिडियाका सञ्चालक रमित बलामीसहितको टोली सक्रिय रूपमा खटिएको छ।

गत १० गतेदेखि नै टोली निरन्तर फिल्डमा सक्रिय छ। सहयोगी मन भएका व्यक्ति तथा विभिन्न समूहसँग समन्वय गर्दै राहत सामग्री संकलन गर्ने, आवश्यकताअनुसार प्रभावित क्षेत्रमा पुर्‍याउने र अझैसम्म पर्याप्त राहत पुग्न नसकेका पीडित परिवारको पहिचान गरी उनीहरूसम्म सहयोग पुर्‍याउने काम टोलीले निरन्तर गर्दै आएको छ।

बाढीपहिरोका कारण धेरै परिवारले घर, अन्नपात, लत्ताकपडा र दैनिक जीवनमा आवश्यक पर्ने सामग्री गुमाएका छन्। कतिपय परिवार अझै पनि सामान्य जीवनमा फर्किन सकेका छैनन्। यस्तो अवस्थामा राहत केवल केही सामग्री मात्र नभई पीडित परिवारका लागि संकटको समयमा पाएको भरोसा र सहारासमेत हो।

यस अभियानमा टोलीले कसलाई सबैभन्दा बढी आवश्यकता छ, कहाँ राहत पुग्न सकेको छैन र तत्काल के सहयोग आवश्यक छ भन्ने विषयलाई प्राथमिकतामा राख्दै सहयोगी दाताहरूसँग समन्वय गरिरहेको जनाएको छ।

राहत वितरणको यो अभियानमा साथ दिइरहनुभएका सम्पूर्ण सहयोगी दाता, व्यक्ति, संस्था तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।

विपत्तिको घडीमा एउटा सहयोगले कसैको चुलो बल्न सक्छ, कसैको आँसु थामिन सक्छ र निराश बनेको परिवारमा फेरि आशा जगाउन सक्छ।

त्यसैले, अझै राहतको पर्खाइमा रहेका परिवारसम्म सहयोग पुर्‍याउने यो अभियानमा हातेमालो गरौँ। पीडितलाई एक्लो नछोडौँ।

मानवता बाँडौँ, सहयोगको हात फैलाऔँ। 🙏❤️

ककनी मिडिया | सत्य तथ्य समाचार

Leave A Reply

Your email address will not be published.