देश बनाउन राज्यका तीन वटै अङ्गको गति एउटै हुनुपर्छ : सभामुख अर्याल

47

काठमाडौं, जेठ ९ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले देश निर्माणका लागि व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीच समन्वय र समान गति आवश्यक रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा पूर्व सांसद मञ्चद्वारा आयोजित कार्यक्रममा बोल्दै सभामुख अर्यालले राज्यका तीनवटै अङ्गबीच सन्तुलित र प्रभावकारी सहकार्य बिना समृद्ध राष्ट्र निर्माण सम्भव नहुने स्पष्ट पारे। उनले कानून निर्माण मात्र नभई त्यसको प्रभावकारी कार्यान्वयनका लागि पनि सबै निकायको समान प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरे।

सभामुख अर्यालका अनुसार मुलुकलाई आवश्यक नीति तथा नियम निर्माण गर्दा सम्बन्धित सबै पक्षको नियत स्पष्ट र जनमुखी हुनुपर्छ। उनले अग्रज पुस्ताको अनुभव, वर्तमान पुस्ताको सक्रियता र नयाँ पुस्ताको ऊर्जा एकीकृत हुन सके राष्ट्र निर्माणको गति तीव्र हुने धारणा व्यक्त गरे।

उनले संघीय संसदले आगामी पचास वर्षको दीर्घकालीन आवश्यकता दृष्टिगत गरी पुराना कानूनहरूको संशोधन तथा खारेजी र नयाँ कानून निर्माणमा विशेष प्राथमिकता दिएको जानकारी दिए।

सभामुख अर्यालले व्यवहारमा लागू गर्न कठिन भएका तथा समयसापेक्ष नभएका कानूनहरूको पुनरावलोकन अपरिहार्य भएको उल्लेख गर्दै नागरिकमैत्री, व्यवहारिक र प्रभावकारी कानून निर्माणका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए।

Leave A Reply

Your email address will not be published.