ग्यास अभावको मारमा उपभोक्ता, तारकेश्वरमा बजार अनुगमन तीव्र

115

काठमाडौं — पछिल्लो समय बजारमा देखिएको ग्यास अभाव तथा उपभोक्ताले भोगिरहेको सास्तीबीच तारकेश्वर नगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाएको छ। ग्यासको सहज आपूर्ति हुन नसक्दा उपभोक्ता समस्यामा परिरहेका बेला नगरपालिकाले ग्यास पसल तथा डिपोसहित दैनिक उपभोग्य वस्तुको बजारमा समेत निगरानी बढाएको हो।

तारकेश्वर नगरपालिका वडा नम्बर २, ६ र ८ का विभिन्न ग्यास पसल तथा डिपो, किराना होलसेल तथा खुद्रा पसल र मार्केटमा संयुक्त अनुगमन गरिएको छ। बजारमा ग्यासको अभाव, मूल्य तथा आपूर्तिको अवस्था अनुगमन गर्नुका साथै उपभोक्ताको स्वास्थ्य र अधिकारसँग जोडिएका अन्य विषयमा समेत टोलीले निगरानी गरेको हो।

बजार अनुगमन समितिका सचिव भुपेन्द्र बडालको नेतृत्वमा खटिएको टोलीमा राष्ट्रिय उपभोक्ता मञ्च काठमाडौं जिल्ला समितिका अध्यक्ष भक्तिनारायण श्रेष्ठ महर्जन, राष्ट्रिय उपभोक्ता मञ्च तारकेश्वर नगरपालिकाका अध्यक्ष सानु महर्जन, अनुगमन समिति सदस्य मनोज गजुरेल, नेपाल प्रहरी तथा नगर प्रहरीको सहभागिता रहेको थियो।

अनुगमनका क्रममा विभिन्न पसलमा बिक्रीका लागि राखिएका म्याद गुज्रिएका खाद्यवस्तु तथा अन्य उपभोग्य सामग्री फेला पारी जफत गरिएको टोलीले जनाएको छ। उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने तथा प्रचलित मापदण्डविपरीत व्यवसाय सञ्चालन गर्ने व्यवसायीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।

यस्तै, पहिलोपटक अनुगमनमा परेका तथा सामान्य कमीकमजोरी देखिएका व्यवसायीलाई भने तत्काल कडा कारबाही गर्नुको सट्टा *गल्ती नदोहोर्‍याउन सचेत गराउँदै आवश्यक सुझाव तथा निर्देशन* दिइएको छ।

पछिल्लो समय ग्यासको अभावका कारण खाना पकाउनसमेत समस्या भोगिरहेका उपभोक्तामाथि कालोबजारी, कृत्रिम अभाव वा म्याद गुज्रिएका वस्तुको बिक्रीजस्ता गतिविधिले थप मार नपरोस् भन्ने उद्देश्यले अनुगमनलाई प्रभावकारी बनाइएको नगरपालिकाको भनाइ छ।

नगरपालिकाले ग्याससहित दैनिक उपभोग्य वस्तुको आपूर्ति, मूल्य र गुणस्तरमा नियमित निगरानी* गर्ने जनाएको छ। उपभोक्ताको स्वास्थ्य र अधिकारमाथि खेलबाड गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याइने चेतावनीसमेत दिइएको छ।

Leave A Reply

Your email address will not be published.