दरबार हत्याकाण्डको २५ वर्ष पूराः नेपाल अझै पनि रहस्यकै छायामा

काठमाडौं – तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश भएको २५ वर्ष पूरा भएको छ। २०५८ साल जेठ १९ गते राति नारायणहिटी दरबारभित्र भएको दर्दनाक घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित राजपरिवारका सदस्यहरूको ज्यान गएको थियो। उच्च सुरक्षा घेराभित्र पारिवारिक जमघटका क्रममा भएको उक्त घटनामा युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, शान्ती, शारदा, कुमार खड्गलगायत सदस्यहरूको मृत्यु भएको थियो।
यो घटनालाई नेपालको इतिहासकै सबैभन्दा दुःखद र विवादास्पद घटनामध्ये एक मानिन्छ। घटनापछि गठन गरिएको उच्चस्तरीय छानबिन समितिले तत्कालीन युवराज दीपेन्द्रलाई घटनाका लागि जिम्मेवार देखाएको प्रतिवेदन सार्वजनिक गरेको थियो।
तर, उक्त प्रतिवेदनप्रति अझै पनि आम रूपमा पूर्ण विश्वास कायम हुन सकेको छैन। स्वतन्त्र तथा विस्तृत पुनः अनुसन्धान नहुँदा यो घटना आजसम्म पनि रहस्यमै रहेको छ।
दरबार हत्याकाण्डपछि नेपालमा राजतन्त्र २०६५ साल जेठ १५ गते औपचारिक रूपमा समाप्त भएको थियो। राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजा बनेका थिए, जो नेपालको अन्तिम राजा हुन्।