अपेन तारकेश्वरको हरियाली अभियान : गुप्तेश्वर धाममा बालबालिकाको सक्रियतामा वृक्षारोपण सम्पन्न

77

काठमाडौं, तारकेश्वर । विश्व वातावरण दिवसको अवसर पारेर तारकेश्वर नगरपालिका–४ स्थित गुप्तेश्वर धाम परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। “अपेन तारकेश्वरको अभियान : सिर्जना, सिकाइ र वातावरणीय जागरणमा बालबालिकाको सक्रिय योगदान” भन्ने मूल नारासहित आयोजित ‘अपेन ग्रीन स्पार्क फेस्ट–२०८३’ अन्तर्गत कार्यक्रम सञ्चालन गरिएको हो।

आज बिहान ११ बजेदेखि सुरु भएको कार्यक्रममा तारकेश्वर क्षेत्रका करिब १५ विद्यालयका झन्डै १५० जना विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूसँगै शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीय समुदायको समेत उल्लेखनीय उपस्थिति देखिएको थियो।

कार्यक्रमको उद्घाटन गुप्तेश्वर धाम व्यवस्थापन समितिका अध्यक्ष इच्छाराम कार्की तथा अपेन तारकेश्वर नगर कमिटीकी वरिष्ठ सल्लाहकार एवं पूर्व अध्यक्ष रेखा शाही हमालले संयुक्त रूपमा बिरुवा रोपेर गरेका थिए।

आयोजकका अनुसार बालबालिकामा वातावरण संरक्षणप्रतिको चेतना अभिवृद्धि गर्दै जिम्मेवारीबोध र प्रकृतिप्रेमी सोचको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमका संयोजक विष्णु शर्मा र सह–संयोजक रसिदा मियाले विद्यालय तहबाटै वातावरण संरक्षणसम्बन्धी शिक्षा र अभ्यासलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताए।

वृक्षारोपण कार्यक्रममा सहभागी विद्यार्थीहरूले “साना हातबाट पनि ठूला परिवर्तन सम्भव छन्” भन्ने सन्देशलाई व्यवहारमा उतार्दै आफ्नै हातले बिरुवा रोपे। उनीहरूले हरित भविष्य निर्माणका लागि आफूहरू प्रतिबद्ध रहेको सन्देशसमेत दिएका थिए।

कार्यक्रमको समापनका अवसरमा अपेन तारकेश्वर नगर समितिकी अध्यक्ष निर्मला सिलवालले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक तथा सहयोगी सबैप्रति आभार व्यक्त गरिन्। साथै यस्ता वातावरणमैत्री अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताइन्।

बालबालिकालाई केन्द्रमा राखेर सञ्चालन गरिएको उक्त कार्यक्रमले वातावरण संरक्षण, दिगो विकास तथा सामाजिक उत्तरदायित्वप्रतिको चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको विश्वास छ। विश्व वातावरण दिवसको सन्दर्भमा आयोजित यस अभियानले हरियाली प्रवर्द्धनसँगै नयाँ पुस्तालाई वातावरण संरक्षणको अभियानमा जोड्ने सशक्त सन्देश दिएको छ।

       

Leave A Reply

Your email address will not be published.