स्मार्ट लाइसेन्समा सरकारको नयाँ दाबी: अब QR स्क्यानमै चालक पहिचान, ३९ तहको सुरक्षा

133

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्री बिक्रम तिमिल्सिना ले हाल छपाइ भइरहेको स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को गुणस्तर र सुरक्षाबारे विस्तृत जानकारी सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा सरकारले नयाँ प्रविधिसहितको सुरक्षित लाइसेन्स प्रणाली लागू गरिएको दाबी गरेको हो।

विज्ञप्तिअनुसार, नयाँ स्मार्ट लाइसेन्स अन्तर्राष्ट्रिय मापदण्ड ISO 7810 ID-1 अनुसार क्रेडिट कार्ड सरहको आकारमा तयार गरिएको छ। यसमा विगतमा प्रयोग गरिएको ‘स्मार्ट चिप’ प्रणालीलाई प्रतिस्थापन गर्दै अब ‘इन्क्रिप्टेड क्यूआर (I-QR)’ प्रविधि अपनाइएको छ।

सरकारका अनुसार, चिप प्रणालीको प्रभावकारी प्रयोगका लागि आवश्यक पूर्वाधार (कार्ड रिडर, अनलाइन-अफलाइन प्रमाणीकरण) नहुँदा यसको उपयोग सीमित थियो। त्यसैले नयाँ प्रणालीमा क्यूआर स्क्यानमार्फत इन्टरनेट बिना नै ट्राफिक प्रहरी वा नियामक निकायले तुरुन्तै चालकको पहिचान पुष्टि गर्न सक्ने व्यवस्था गरिएको छ।

नयाँ लाइसेन्समा ३९ प्रकारका सुरक्षा विशेषता समावेश गरिएको दाबी गरिएको छ। जसमा:

  • साधारण आँखाले देखिने मेटालिक इंक र सुरक्षा ढाँचा
  • मेसिनले पढ्ने (MRZ) जोन
  • विशेष उपकरणले मात्र देख्ने UV इंक र इन्फ्रारेड प्रणाली
  • प्रयोगशालामा मात्र परीक्षण हुने ‘डिजिटल फिंगरप्रिन्ट’ र रसायनिक हस्ताक्षर

मन्त्रालयले उत्पादन प्रक्रिया पूर्ण रूपमा ‘एन्ड-टु-एन्ड अफलाइन’ रहेको भन्दै डेटा चुहावटको जोखिम न्यून रहेको दाबी गरेको छ। साथै, क्यूआर कोडको वैधता लाइसेन्सको अवधि भरि कायम रहने जनाइएको छ।

सुरक्षण मुद्रण केन्द्र मार्फत छपाइ भइरहेको यो प्रणालीले नेपाललाई सुरक्षण मुद्रणमा आत्मनिर्भर बनाउने, विदेशी मुद्रा बचत गर्ने र भविष्यमा नागरिकता, लालपुर्जा, भिसा स्टिकर लगायतका संवेदनशील कागजात पनि स्वदेशमै उत्पादन गर्न सक्ने आधार तयार भएको मन्त्रालयको भनाइ छ।

मन्त्रालयले यो परियोजनामा सहयोग गर्ने यातायात व्यवस्था विभाग लगायत निकाय, सञ्चार क्षेत्र र नागरिकप्रति आभार व्यक्त गर्दै कुनै पनि जिज्ञासा वा सुझावका लागि खुला रहेको जनाएको छ।

तर, सरकारी दाबीबीच नयाँ लाइसेन्सको व्यवहारिक प्रभावकारिता, प्रविधिको पारदर्शिता र कार्यान्वयन पक्षबारे आम नागरिक र सरोकारवालाबाट थप प्रश्न उठ्ने सम्भावना पनि उत्तिकै देखिन्छ।

Leave A Reply

Your email address will not be published.