कल्कि सेना ड्राइभ’को नयाँ अभियान: तीन वर्षमै नेपाल रूपान्तरण गर्ने घोषणा

256

भदौ १, काठमाडौं: नेपालमा नयाँ वैचारिक अभियानका रूपमा अघि बढिरहेको ‘कल्कि सेना ड्राइभ’ले देशमा आमूल परिवर्तन ल्याउने दाबी गर्दै तीन वर्षभित्र शिक्षा, स्वास्थ्य, रोजगारी, वातावरण सुधार तथा सामाजिक रूपान्तरण गर्ने योजनासहितको सन्देश सार्वजनिक गरेको छ। ‘कल्किजम् रिसर्च एण्ड ट्रेनीङ सेन्टर’ अन्तर्गतको यो अभियानले सामाजिक सञ्जालमार्फत प्रचार सामग्री सार्वजनिक गर्दै वैकल्पिक शासन प्रणालीको प्रस्तावसमेत अघि सारेको छ।

सार्वजनिक पोस्टरमा उल्लेख गरिएअनुसार, अभियानले पहिलो वर्षमै सम्पूर्ण नागरिकलाई शिक्षा, स्वास्थ्य र कानुनी सेवा निःशुल्क उपलब्ध गराउने दाबी गरेको छ। त्यसपछिको वर्षमा काठमाडौं उपत्यकाको वायुमण्डललाई एसियाकै सबैभन्दा सफा बनाउने लक्ष्य राखिएको छ। तेस्रो वर्षसम्ममा भने ५० लाख रोजगारी सिर्जना गर्दै, नेपाली रुपैयाँलाई भारतीय रुपैयाँभन्दा बलियो बनाउने (१ नेपाली रुपैयाँ बराबर २५ भारु) योजना सार्वजनिक गरिएको छ। त्यस्तै, भ्रष्टाचार ९५ प्रतिशतसम्म घटाउने र दाइजो प्रथासहितका सामाजिक कुप्रथाको अन्त्य गर्ने अभियानको अङ्ग रहेको छ।

‘हाम्रो १०० जना अर्थशास्त्रीलाई सरकार चलाउने मौका दिनुहोस्’ भन्ने नारासहित सार्वजनिक गरिएको यो सन्देशले दक्ष, प्राविधिक र वैचारिक नेताहरूको संयोजनमा देश निर्माण गर्न सकिने दाबी गर्दछ। यद्यपि अभियानको नेतृत्व कसले गरिरहेको छ भन्नेबारेमा स्पष्ट जानकारी सार्वजनिक सामग्रीमा उल्लेख गरिएको छैन। पोस्टरमा दुई जना पुरुषको तस्बिर मात्र दिइएको छ, जसलाई सम्भवतः यस अभियानका अगुवा मानिएको छ।

यस अभियानले परम्परागत राजनीतिक व्यवस्थालाई चुनौती दिँदै ‘ज्ञानतन्त्र’ र ‘कल्किवाद’को अवधारणा अघि सारेको छ। प्रचार सामग्रीमा उल्लेख गरिएको छ — “देश डुब्यो, गुणतन्त्र र पुँजीवादको पाराले, युग अब बदलिन्छ, ज्ञानतन्त्र र कल्किवादको नाराले।”

यो अभियानको दाबीहरू निकै महत्त्वाकांक्षी छन्। विज्ञहरूका अनुसार यस्ता दाबीहरू तत्काल कार्यान्वयन गर्न कठिन भए पनि वैकल्पिक सोचको आधारमा अगाडि बढ्न सक्ने सम्भावना भने नकार्न सकिँदैन। तथापि, यस्ता योजनाहरू व्यवहारमा कसरी कार्यान्वयन गरिन्छ भन्ने कुरा नै अन्ततः निर्णायक हुने बताइन्छ।

नेपालमा वैकल्पिक राजनीतिक विचार, नयाँ पुस्ताको सहभागिता र नवप्रवर्तनशील सोचको खाँचो बढ्दो अवस्थामा छ। ‘कल्कि सेना ड्राइभ’को अभियानले त्यो खालको छलफललाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

1 Comment
  1. 免费资源下载 says

    真免费!价值万元资源,不要一分钱,网址:https://www.53278.xyz/

Leave A Reply

Your email address will not be published.